नेपालले सोमबार र मंगलबार यूएईसँग दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दै छ ।
What you should know
काठमाडौँ — नेपाल ट्वान्टी–२० र एकदिवसीय क्रिकेटमा फरक-फरक कप्तानका साथ उत्रिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आउँदो अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाहरूका लागि शुक्रबार ट्वान्टी–२० मा दीपेन्द्रसिंह ऐरी र एकदिवसीयका लागि रोहित पौडेललाई कप्तान बनाएको छ ।
दीपेन्द्रको नेतृत्वमा नेपालले यूएईसँग दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय र रोहितको कप्तानीमा नेपालले यूएई र ओमानविरुद्ध हुने विश्वकप क्रिकेट लिग २ को शृंखलामा खेल्नेछ । रोहितलाई नेपालको ट्वान्टी–२० टोलीमा राखिएको छैन भने दीपेन्द्र एकदिवसीय टोलीमा उपकप्तान रहेका छन् । नेपालले सोमबार र मंगलबार यूएईसँग दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दै छ ।
यूएईसँग खेल्ने नेपालको ट्वान्टी–२० टोलीमा दीपेन्द्रसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहव आलम र शेर मल्ल रहेका छन् । प्रतिश जिसी, नारायण जोशी र रशिद खान वैकल्पिकमा रहेका छन् ।
नेपालले पछिल्लोपटक ट्वान्टी–२० मा दुई महिनाअघि भारतको मुम्बईमा विश्वकप खेलेको थियो । विश्वकप खेलेको टोलीका रोहितसहित आसिफ शेख, करण केसी, सोमपाल कामी, ललित राजवंशीलाई यूएईसँगको शृंखलाका लागि नेपाली टोलीमा राखिएको छैन ।
त्यस्तै रोहित र दीपेन्द्रसहित लिग २ मा समावेश नेपाली खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन् । हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे, देव खनाल वैकल्पिकमा रहेका छन् ।
यूएई र ओमान सम्मिलित लिग २ शृंखला अप्रिल २५ देखि मे १० सम्म आयोजना हुनेछ ।
