विभाग र प्रदेश टोली पहिलोपल्ट फाइनलमा आमनेसामने

प्रधानमन्त्री कप क्रिकेटको फाइनल खेल्ने सदाबहार त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशसँग  पहिलो पटक उपाधिका लागि खेल्दै, फाइनल आज वीरगन्जमा

वैशाख ४, २०८३

शंकर आचार्य, विनोद पाण्डे

Department and provincial teams face off in the final for the first time

What you should know

(काठमाडौं) र  (पर्सा) — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रबार हुने फाइनल खेल्ने क्रममा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच ठूलो भिन्नता छ । प्रतियोगिताको यो आठौं संस्करण हो । 

आर्मीले सबै संस्करणको फाइनल खेल्दै आएको छ । त्यसको ठिक विपरीत सुदूरपश्चिम पहिलो पटक फाइनल खेल्दै छ । विभागीय टोलीको वर्चस्व रहेको पीएम कप क्रिकेटको इतिहासमै कुनै प्रदेश टोलीले फाइनल खेल्न लागेको पहिलो पटक हो । यो इतिहास सुदूरपश्चिमले बनाएको छ । वीरगन्जस्थित टीबी शाह क्रिकेट मैदानमा उपाधि जितेमा सुदूरले अर्को इतिहास लेख्ने छ । 

तीन दिनअघि सुदूरपश्चिमले साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरी फाइनलमा स्थान पक्का गरेको थियो । राउन्ड रोबिन लिगमा सुदूरपश्चिमले ९ मध्य ६ खेल जित्यो भने तीनमा पराजय भोगेको थियो । लिगमा आर्मीले सुदूरपश्चिमलाई १ सय ५० रनमा अलआउट गर्दै ७ विकेटले सजिलै जित हात पारेको थियो । सुदूरपश्चिमविरुद्धको खेल आर्मीले सधैं जित्दै आएको छ । 

तीव्र गतिका बलर हेमन्त धामी र कप्तान शेर मल्ल सुदूरपश्चिमलाई फाइनल पुर्‍याउने प्रमुख दुई खेलाडी हुन् । हेमन्त र बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले सर्वाधिक २५ विकेट लिएका छन् भने उनीहरूलाई २२ विकेट लिएर शेरले पछ्याइरहेका छन् । त्यसपछि सुदूरपश्चिमबाट सर्वाधिक विकेट लिने खेलाडी सूचीमा अशोक धामी छन् । उनको ९ विकेट छ । 

पीएम कपको इतिहासमा सुदूरपश्चिम यसअघि कमजोर टोली रहँदै आएको थियो । सन् २०१७ मा प्रतियोगिताको पहिलो संस्करणमा सहभागीलाई दुई समूहमा विभाजन गरेर खेलाइँदा सुदूरपश्चिमले ३ खेल खेलेको थियो । कुनै खेल जित्न सकेको थिएन, त्यसमा २ खेलमा हार भोगेको थियो भने १ खेल रद्द भएको थियो । २०१८ मा ४ मध्ये २ खेल जित्नुका साथै १ हार र १ खेल रद्द भएपछि टोली लुम्बिनी प्रदेशसँग नेट रनरेटमा पछाडि परेर सेमिफाइनल पुग्न असफल भएको थियो ।

सन् २०१९ मा सुदूरपश्चिमले ४ मध्ये १ खेलमात्र जितेको थियो भने २ मा पराजय भोगेको थियो । सन् २०२१ मा ४ मध्ये १ खेलमात्र जितेको थियो भने ३ मा पराजय भोग्यो । २०२२ मा पनि सुदूरले ४ मध्ये १ खेलमात्र जितेको हो । सन् २०२४ देखि प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा खेलाउन थालियो । त्यसमा सुदूरपश्चिमले ९ खेलमा ४ जित र ५ हार तथा सन् २०२५ मा तीन खेल जित्नुका साथै ६ मा हार भोगेको थियो । 

सबै संस्करणको फाइनल खेल्दै आए पनि आर्मी दुई पटकमात्र विजेता बनेको छ । सन् २०१७ को फाइनलमा टोली नेपाल पुलिस क्लबसँग संयुक्त विजेता बनेको थियो । सन् २०२१ मा नेपाल एपीएफ क्लबलाई पराजित गरी पहिलो पटक आर्मी स्पष्ट विजेता बन्यो । यसपालि सुदूरपश्चिमलाई पराजित गरेमा पुलिसले सर्वाधिक ४ पटक जितेको उपाधि कीर्तिमान नजिक आर्मी पुग्नेछ । 

आर्मीमा सुदूरपश्चिमकै खेलाडीको वर्चस्व छ । कप्तान विनोद भण्डारीसहित भीम सार्की, अर्जुन साउद, नरेन साउद र आकाश चन्द सुदूरपश्चिमकै खेलाडी हुन् । लिग चरणमा आर्मीले खेलेका ९ मध्ये ८ खेलमा जित निकाल्दा एक खेल अनिर्णीत रह्यो । अपराजित आर्मी १७ अंकसहित अंकतालिकाको शीर्षस्थानमा रहेर फाइनल पुगेको थियो । सन्तुलित ब्याटिङ र अनुशासित बलिङका कारण आर्मी प्रतियोगिताभर प्रभावशाली देखिएको छ । विनोदको नेतृत्वमा रहेको टोलीमा अनुभवी खेलाडीको उपस्थिति बलियो पक्षका रूपमा देखिएको छ । कुशल मल्ल र शाहब आलम जस्ता खेलाडी उत्कृष्ट लयमा रहँदा आर्मी फाइनलमा दाबेदार टोली भएर उभिएको छ । 

सुदूरका कप्तान शेरले पनि आफ्नो टिमलाई सन्तुलित रूपमा अघि बढाएका छन् । पछिल्लो समय टोलीका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्, जसले फाइनललाई प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ । पुलिस भने यसपल्ट फाइनलमा पुग्न असफल रह्यो । ९ अंकसहित तालिकाको पाँचौं स्थानमा सीमित पुलिसको प्रदर्शन यस संस्करणमा अपेक्षाकृत कमजोर रह्यो । अघिल्ला दुई संस्करणमा लगातार उपाधि जितेको पुलिस यसपालि लय कायम राख्न असफल भयो । फाइनलमा अनुभवी र अन्तर्राष्ट्रिय खेलाडीको उपस्थिति निर्णायक बन्न सक्ने देखिएको छ । आर्मीका कप्तान विनोदसँगै कुशल र शाहबले टोलीलाई मजबुत बनाएका छन् भने सुदूरपश्चिममा कप्तान शेर र हेमन्त धामी जस्ता खेलाडी उत्कृष्ट लयमा छन् । 

पीएम कप जित्नेले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्लेयर अफ द सिरिजसहित वेस्ट ब्याटर र ब्याटरले १–१ थान यामाहा मोटरसाइकल जित्नेछन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully