विराटनगरस्थित सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सम्राट उपाधि नजिक पुगेको हो ।
सुनसरी — विराट गोल्डकपको उपाधिको लागि घरेलु टोली सम्राट स्पोर्टिङ क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुने भएको छ । विराटनगरस्थित सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सम्राट उपाधि नजिक पुगेको हो ।
यसअघि बुधबारको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा ११ फाइनलमा प्रवेश गरेको थियो । पहिलोपटक विराट गोल्डकपमा सहभागिता जनाएको सम्राटले फाइनल यात्रा तय गर्न सफल भएको हो ।
सम्राटको जितमा सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले १–१ गोल गरे । खेलको प्लेयर अफ द म्याच सम्राटका सौरभ तामाङ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाएका छन् ।
खेलको ५०औँ मिनेटमा सौरभले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । निर्धारित ९० मिनेटको खेल सकिएपछि थपिएको ७ मिनेटको अतिरिक्त समयमा सम्राटले थप २ गोल गर्दै जित सुनिश्चित गरे । अतिरिक्त समयको चौथो मिनेटमा आदित्य शाक्यले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसको २ मिनेट बित्न नपाउँदै विवेक राईले गोल गरेपछि सम्राट ३–० ले विजयी भयो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । घरेलु दर्शकको भरपुर साथ पाएको सम्राट सुरुदेखि नै आक्रामक रणनीतिका साथ मैदान उत्रिए पनि पहिलो हाफमा केही सुन्दर अवसरहरू चुकाएको थियो । खेलको २९औँ मिनेटमा आदित्य शाक्यको प्रहार पोष्टभन्दा थोरै माथिबाट बाहिरियो भने ३२औँ मिनेटमा आशिष चौधरीले डि-बक्सभित्रबाट गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
दोस्रो हाफको सुरुवातमै गोल खाएपछि दबाबमा परेको चर्च ब्वाइजले गोल फर्काउने केही प्रयास गरे पनि सफल हुन सकेन । चर्च ब्वाइजका स्ट्राइकर समीर तामाङ फिनिसिङमा पटक पटक चुकेका थिए । उनी बुधबार मात्रै सातदोबाटो युथ क्लबबाट इटहरी गोल्डकप खेलेर विराटनगर पुगेका हुन् ।
६७औँ मिनेटमा समीरको प्रहार पोस्ट नजिकैबाट बाहिरियो भने ७२औँ मिनेटमा सृजन गौतमको प्रहारले पनि सही दिशा लिन सकेन । अन्ततः गोलका अवसरहरू सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज सेमिफाइनलबाटै बाहिरिन बाध्य भयो । यसअघि सम्राटले क्वाटरफाइनलमा भारतको बिर्सामुण्डा स्पोर्टस् एकेडेमीलाई ३–१ ले पराजित गरेको थियो ।
अर्कोतर्फ, झापा ११ ले नेपाल पुलिस र त्रिभुवन आर्मीलाई पाखा लगाउँदै फाइनल पुगिसकेको छ । प्रतियोगिताको फाइनलखेल शनिबार हुनेछ । विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
