पन्जाबले मुम्बईका क्विन्टन डी ककको शतक छायाँमा पार्दै २१ बलअघि अगाडि नै जित रचेको हो ।
मुम्बई — पन्जाब किंग्सले बिहीबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ ।
पन्जाबले मुम्बईका क्विन्टन डी ककको शतक छायाँमा पार्दै २१ बलअघि अगाडि नै जित रचेको हो । १ सय ९६ रनको लक्ष्यलाई पूरा गर्दा ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस ऐरले तेस्रो विकेटमा गतिलो साझेदारी गरेका थिए । प्रभसिमरनले ३९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै अविजित ८० रन बनाए । उनीसँगै अविजित रहेका मार्कस स्टोइनिसले १० रन बनाए । कप्तान श्रेयसले भने ३५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको योगदान गरे । श्रेयस १५ औं ओभरमा लगातार दुई छक्का प्रहार गरेपछि शार्दूल ठाकुरको बलमा नमन धीरबाट क्याचआउट भएका थिए । श्रेयसले लगातार तेस्रो खेलमा अर्धशतक बनाए । पन्जाव अपराजित रहँदै शीर्षस्थानमा पुगेको छ । ५ खेलमा एकमात्र जित पाएको मुम्बई नवौं स्थानमा छ ।
ओपनर प्रियान्श आर्यले १५ र कूपर कोनोलीले १७ रनमा आउट भएपछि पन्जाव ४५/२ को स्थिति पुग्यो । उनीहरू दुवै अफगानी बलर एएम गजनफरको सिकार भए । ९ बल खेलेका प्रियान्सले २ चौका र एक छक्का तथा कुपरले १२ बलमा १ चौका र २ छक्का प्रहार गरे । मार्कुस स्टोइनिस १० रनमा अविजित रहे ।
यसअघि डी ककको शतकमा टस हारेर ब्याटिङ निम्तो पाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाई १ सय ९५ रन बनाएको हो । यस सिजनको आईपीएलमा आफ्नो पहिलो खेल खेलिरहेका डी ककले अविजित १ सय १२ रन बनाएका थिए । तीन फरक फ्रेन्चाइजबाट खेल्दै तीन शतक बनाउने उनी तेस्रो खेलाडी हुन् । यसअघि सञ्जु सामसन र केएल राहुलले यस्तो कीर्तिमान बनाएका थिए । आईपीएलमा ६ वटा टिमबाट खेलिसकेका डी ककले सन् २०१६ मा दिल्ली क्यापिटल्स र २०२२ मा लखनउ सुपर जायन्ट्सबाट शतक बनाएका थिए ।
डी ककले ६० बल खेल्दै ८ चौका र ७ छक्का प्रहार गरे । रायन रिकेल्टन २ र सूर्यकुमार यादव शून्यमा आउट भए पनि डी कक र नमन धीरले तेस्रो विकेटमा १ सय २२ रनको साझेदारी गरे । उनले ३१ बल खेल्दै समान ३ चौका र छक्का प्रहार गरे । कप्तान हार्दिक पाण्ड्या १४, सेरफन रदरफोर्ड १ र तिलक बर्मा ८ रनमा आउट भए । पन्जाबका अर्शदीप सिंहले ४ ओभरमा २२ रन खर्चेर ३ तथा मार्को यानसेन र शशांक सिंहले १–१ विकेट लिए ।
