कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले हरेक वर्ष आयोजना गर्ने दौड प्रतियोगितामा हाफ म्याराथन, कर्पोरेट एन्ड इन्फ्लुन्सर रन (५ किमि), एक्स्ट्रिम कलेज रन (७ किमि), ह्विलचेयर रेस (३ किमि) गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । यसअघि २०७५ को कान्तिपुर हाफ म्याराथनमा २ हजार ५ सय ६० जनाले दौडिएका थिए ।
काठमाडौँ — कान्तिपुर हाफ म्याराथनमा यसपटक सबैभन्दा धेरै ४ हजार जनाले सहभागिता जनाउने भएका छन् । ‘रन फर नेपाल’ नारासहित कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण पर्सि शनिबार (५, वैशाख) हुँदै छ ।
कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले हरेक वर्ष आयोजना गर्ने दौड प्रतियोगितामा हाफ म्याराथन, कर्पोरेट एन्ड इन्फ्लुन्सर रन (५ किमि), एक्स्ट्रिम कलेज रन (७ किमि), ह्विलचेयर रेस (३ किमि) गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । यसअघि २०७५ को कान्तिपुर हाफ म्याराथनमा २ हजार ५ सय ६० जनाले दौडिएका थिए ।
‘दर्ता अवधि हामीले बुधबार (वैशाख २ गते) सम्म तोकेका थियौं, तर सहभागी हुने संख्या बढिरहेकाले एक दिन लम्बियो, बिहीबार खेलाडी दर्ता प्रक्रिया बन्द गरेका छौं,’ कान्तिपुर मिडिया ग्रुपका सीईओ महेश स्वाँरले भने, ‘कान्तिपुर हाफ म्याराथनको इतिहासमै सबैभन्दा धेरै सहभागिता यस पटक हुनेछ, त्यसमा युवा धेरै छन् । यसले हामीलाई निकै उत्साहित बनाएको छ ।’
यसले नेपालमा दौड संस्कार बढ्दै गएको संकेतको रूपमा आफूहरूले लिएको सीईओ स्वाँरले बताए । ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको पावर्ड बाईमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहनेछ । स्वाँरका अनुसार यसपालि हाफ म्याराथन विधामा ‘एक्युरेट टाइमिङ’ निकाल्न हरेक खेलाडीमा चिप्स प्रयोग गरिनेछ ।
कान्तिपुर हाफ म्याराथनको दुरी २१.१ किमि हुनेछ । दुवै पुरुष र महिला विजेताले समान १ लाख ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् । दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार जित्नेछन् । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा प्रतियोगिताको ह्विलचेयर रेसका विजेताले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार जित्नेछन् ।
कर्पोरेट एन्ड इन्फ्लुन्सर तथा कलेज रनतर्फ शीर्ष तीन स्थानका महिला र पुरुष विजेताले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यसपालिदेखि दौड पूरा गर्ने सबैलाई ‘फिनिसर पदक’ प्रदान गरिनेछ ।
कलेज रन विजेताले भने आईपीएलको फाइनल हेर्न जाने अवसर पाउने छ । आतेजाते हवाई टिकटसहित सबै व्यवस्थापन एक्स्ट्रिम इनर्जीले प्रदान गर्ने एक्स्ट्रिम इनर्जी ड्रिंक्सकी बिजनेस हेड सोनिया राणाले यसअघि नै जानकारी गराएकी थिइन् ।
कान्तिपुरको कार्यालय रहेको तीनकुने अगाडिबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमि, सल्लाघारी हुँदै जगाती चोकबाट फन्को लगाएर पुनः कोटेश्वर, तीनकुनेमा आएर दौड टुंगिने छ । कर्पोरेट एन्ड इन्फ्लुन्सर दौड तीनकुनेबाट सुरु भएर लोकन्थलीको पुलबाट फर्किएर कोटेश्वर हुँदै तीनकुने आएर टुंगिनेछ । तीनकुनेबाट सुरु हुने ह्विलचेयर कोटेश्वर पुगेर तीनकुनेमै आएर टुंगिनेछ । कलेज रन तीनकुनेबाट कोटेश्वर हुँदै गठ्ठाघर चोक पुगेर सोही रुटमा फर्कनेछ ।
कान्तिपुर हाफ म्याराथनको सेलेब्रेसन पार्टनरमा केएफसी एन्ड पिज्जा हट, टेक्निकल पार्टनरमा नेपाल एथलेटिक्स संघ, हस्पिटल पार्टनरमा फ्रन्टलाइन अस्पताल र फुड पार्टनरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी रहेका छन् ।
गत वर्ष १३ औं संस्करणमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का र महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठ च्याम्पियन भएका थिए । सबैभन्दा धेरै पाँच पटक कान्छीमाया कोजुले कान्तिपुर हाफ म्याराथनको महिलातर्फको उपाधि जितेकी छन् भने पुरुषतर्फ चार पटक उपाधि जित्नेमा धावक हरिकुमार रिमाल छन् ।
