बाह्रखरी गल्फ वैशाख १९ मा

हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा १ सयभन्दा बढी गल्फरको सहभागिता रहने बिहीबार बाह्रखरी मिडियाले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

वैशाख ३, २०८३

कान्तिपुर संवाददाता

Bahrakhari Golf on April 19

काठमाडौँ — एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको नवौं संस्करण यही १९ वैशाख गोकर्ण गल्फ कोर्समा हुने भएको छ ।

हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा १ सयभन्दा बढी गल्फरको सहभागिता रहने बिहीबार बाह्रखरी मिडियाले पत्रकार सम्मेलनमार्फत जनाएको छ । कर्पोरेट क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने प्रतियोगिताको विजेताले २४ क्यारेट सुनबाट बनेको बल पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै अन्य विभिन्न विधाका विजेताले गिफ्ट ह्याम्पर तथा ट्रफी प्राप्त गर्नेछन् । खेल १८ होलमा स्टेबल फोर फरम्याटमा हुनेछ । प्रतियोगितामा होल इन वन विजेताले बीवाईडीको एट्टो थ्री गाडी जित्नेछन् ।  

सोही अवसरमा इकोनोमिक सिम्पोजियम पनि हुने भएको छ । विश्वव्यापी पछिल्ला दिनमा देखा परेको आर्थिक उतारचढाव, नेपालजस्ता मुलुकलाई पार्ने असरका बारेमा इकोनोमिक सिम्पोजियममा विचारमन्थन हुने बाह्रखरी मिडियाका अध्यक्ष प्रतीक प्रधानले जानकारी गराए ।

उनले प्रतिष्ठित व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणी व्यक्तित्वलाई गल्फ खेलमा प्रतिस्पर्धा गराउने, मुलुकको आर्थिक अवस्थामाथि परिसंवाद गरी सरकारलाई नीति निर्माण र निर्णय प्रक्रियामा सहज तुल्याउने उद्देश्यले आर्थिक सिम्पाजियम गरिएको बताए ।  

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आतिथ्यतामा हुने इकोनोमिक सिम्पोजियममा भारतीय नीति आयोगका पूर्व सीईओ अमिताभ कान्त, पूर्वअर्थमन्त्री रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

प्रतियोगितामा विगतमा जस्तै यस वर्ष पनि विदेशी खेलाडीको सहभागिता रहने जनाइएको छ । नेपालस्थित विदेशी नियोगका प्रतिनिधिको प्रतियोगितामा सहभागी हुनेछ ।

नेपाल गल्फ संघका सचिव तथा प्रतियोगिताका निर्देशक दीपक आचार्यले गल्फ प्रतियोगिताबारे प्राविधिक पक्षबारे जानकारी गराउँदै नेपालमा गल्फ टुरिजमको सम्भावना उच्च रहेको बताए । उनले भने, ‘नेपालको हावापानी गल्फ टुरिजमका लागि एकदमै अनुकूल छ । यस इकोनोमिक सिम्पोजियममार्फत् गल्फ टुरिजमको विषयलाई उठान गर्नुहोला ।’

गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे, एनसेलका सुलभ विष्ट, बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इन्ककी यमुना श्रेष्ठ, नेपाल डिस्ट्रिलरीकी ब्रान्ड म्यानेजर सुदीक्षा अधिकारीले गल्फसँगै कर्पोरेट क्षेत्रको आवाजलाई नीति निर्माण तहमा पुर्‍याउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गरेका थिए ।

कान्तिपुर

Link copied successfully