फुटबल उपाधि जित्नेलाई ४० किलो घिउ पुरस्कार 

सूर्योदय फुटबल क्लब लाफेलाई चौंरीको ४० किलो घिउ पुरस्कार

वैशाख ३, २०८३

लक्ष्मी गौतम

40 kg of ghee awarded to football title winner

पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिका-४ चाररातेमा आयोजित साहसिक फुटबल प्रतियोगिताको उपाधि सूर्योदय फुटबल क्लब लाफेले जितेको छ ।

समुद्री सतहदेखि ३ हजार ४ सय ५० मिटरको उचाइमा आयोजित प्रतियोगितामा प्रतिस्पर्धी तीन सिमाना जनसेवा समाजलाई हराँउदै उपाधि जित्न सफल भएको हो ।

विजेता सूर्योदयले ४० हजार मूल्यबराबरको चौंरीको ४० किलो घिउसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । त्यस्तै उपविजेता तीन सिमाना जनसेवा समाजले २० हजार मूल्यबराबरको २० किलो घिउमा चित्त बुझायो ।

साहसिक फुटबल प्रतियोगिता नवौं फालेलुङ चौंरी पर्यटन महोत्सवका अवसरमा कञ्चनजंघा याक चिज उत्पादन समूहले आयोजना गरेको हो ।

२०७४ सालदेखि नेपाली नयाँ वर्षमा चौंरी पर्यटन महोत्सव आयोजना गरिन्छ । सोही अवसरमा साहसिक फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

छिमेकी मुलुक भारतसँगको सीमावर्ती चाररातेमा आयोजना हुने यो प्रतियोगिता नेपालका उच्च स्थानमा आयोजना गरिने फुटबलमध्येको एक मानिन्छ । यस वर्षको प्रतियोगितामा नेपाल र भारतका गरी पाँच टोलीको सहभागी थिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully