किशोरी सशक्तीकरण तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि इस्लामिक रिलिफ नेपाल, आड्रा नेपाल, ग्रामीण विकास केन्द्र र चन्द्रपुर नगरपालिकाले संयुक्त रूपमा नगरस्तरीय किशोरी फुटबल प्रतियोगिता आयोजना गरेका हुन् ।
What you should know
रौतहट — नगरस्तरीय किशोरी फुटबल मेयर कप प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १ र ५ विजयी भएका छन् । चन्द्रपुरस्थित स्वर्गीय शेरबहादुर दर्लामी खेल मैदानमा बुधबार भएको खेलमा वडा नं १ ले वडा नं ३ लाई ५–० ले पराजित गरेको हो भने दोस्रो खेलमा वडा नम्बर ५ ले वडा नं २ लाई १–० ले पराजित गरेको हो ।
किशोरी सशक्तीकरण तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि इस्लामिक रिलिफ नेपाल, आड्रा नेपाल, ग्रामीण विकास केन्द्र र चन्द्रपुर नगरपालिकाले संयुक्त रूपमा नगरस्तरीय किशोरी फुटबल प्रतियोगिता आयोजना गरेका हुन् ।
बुधबारको खेलको ७ औं मिनेटमै वडा नम्बर १ का लागि ललिता मण्डलले पहिलो गोल गरेकी थिइन् । खेलको १४ औं मिनेटमा कल्पना जिम्बाले टिमका लागि दोस्रो गोल थपिन् । ३४औं मिनेटमा सानिमा लोले तेस्रो गोल गरिन् । तीन गोलले पछि परेको वडा नम्बर ३ ले गोलको खाता नै खोल्न सकेन । मध्याह्नपछिको खेलमा वडा नम्बर एककै कल्पना जिम्बाले लगातार दुई गोल गरिन् र टिमले ५–० ले जित दर्ज गर्यो । कल्पना जिम्बा ‘प्लेयर अफ द म्याच’ भइन् ।
दोस्रो खेलमा वडा नम्बर ५ की खेलाडी सदीक्षा पौडेलले खेलको १८ औं मिनेटमा टिमका लागि पहिलो गोल गरिन् । उनकै गोलले टिम विजयी भयो । वडा नम्बर २ का खेलाडीले गोल गर्ने निकै प्रयास गरेको थियो । वडा नं २ का खेलाडी संजीता बल तामाङले पटक/पटक गोल गर्ने अवसर पाएकी थिइन् । तर बललाई गोलमा परिणत गर्न सकिनन् । खेलामा वडा ५ की सदीक्षा पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । प्रतियोगितामा चन्द्रपुर नगरपालिकाका ९ वटै वडाले भाग लिएका छन् ।
