सूर्य नेपाल एनपीजीए म्याच प्ले

भुवनले क्वाटरफाइनलमा टंकविरुद्ध खेल्ने छन् ।

वैशाख २, २०८३

कान्तिपुर संवाददाता

Surya Nepal NPGA Match Play

What you should know

काठमाडौँ — भुवन नगरकोटीसँगै नीरज तामाङ, रामे मगर, सञ्जय लामा, जयराम श्रेष्ठ, रवि खड्का, दिनेश प्रजापति र टंकबहादुर कार्की बुधबार सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटरफाइनल पुगेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा बुधबार दोस्रो वरीयताका भुवनले सबैभन्दा सहज जित निकाले । उनले १५ औं वरीयताका कृष्णमान राजबाहकलाई ७/६ ले हराए । १२ औं होलमा जित पाएका भुवनले क्वाटरफाइनलमा टंकबहादुर कार्कीलाई प्रतिद्वन्द्वी पाएका छन् । भुवनले सूर्य नेपाल टुरको लगातार तीन प्रतियोगिता जितेका थिए ।

१० वरीयताका टंकले सातौं वरीयताका धनलाई २/० ले हराए । यी दुई बीच कडा प्रतिस्पर्धा चल्दा टंकले १८ औं होलमा जित निकाले । नेपाल नम्बर एक गल्फर नीरजले १६औं वरीयताका सूर्यप्रसाद शर्मालाई ३/२ ले हराएर अन्तिम आठमा स्थान सुरक्षित गरे । १६ औं होलमा जित पाएका उनले क्वाटरफाइनलमा भेट्रान गल्फर रामे मगरसँग खेल्नेछन् । नवौं वरीयताका रामेले आठौं वरीयताका भुवनकुमार रोक्कालाई १/० ले हराए।

तेस्रो वरीयताका दिनेश प्रजापतिले १४ औं वरीयताका बलभद्र राईलाई सहजै ६/४ ले माथ दिए । दिनेशले क्वाटर फाइनलमा रवि खड्कासँग खेल्नेछन् । छैटौं वरीयताका रविले ११ औं वरीयताका दीपक मगरलाई ४/२ ले हराए ।

Surya Nepal NPGA Match Play

चौथो वरीयताका सञ्जयले १३ औं वरीयताका रमेश अधिकारीलाई ३/२ ले पराजित गरे । सञ्जयले सेमिफाइनल पुग्न जयराम श्रेष्ठविरुद्ध खेल्नेछन् । जयराम वाकओभर पाएर अन्तिम आठमा पुगे । १२ औं वरीयताका प्रदीप लामा अनुपस्थित भएपछि जयरामले वाइ पाएका हुन् ।

तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अर्डर अफ मेरिटका शीर्ष १६ खेलाडीले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिता विजेताले १ लाख, दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः ७५ हजार, ५६ हजार र ४२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, क्वाटरफाइनल पुग्ने चार खेलाडीले जनही १८ हजार तथा पहिलो चरणबाट बाहिरिने खेलाडीले जनही १० हजार प्राप्त गर्नेछन् ।

कान्तिपुर

Link copied successfully