जुनियर खेलाडीलाई सन्दीपको टिप्स : 'मिहिनेत गर, अवश्य सफल भइन्छ'

हेटौंडा स्पोर्ट्स एकेडेमीले सञ्चालन गरेको ग्रासरुट क्रिकेट प्रशिक्षणमा रहेका खेलाडीसँग आफ्नो अनुभव बाँड्न लामिछाने बुधबार हेटौंडा आएका हुन् ।

वैशाख २, २०८३

सुवास विडारी

Sandeep's tips for junior players: 'Work hard, you will definitely succeed'

मकवानपुर — क्रिकेटमा भविष्य खोजिरहेका युवा खेलाडीको हौसला बढाउन राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडा आएका छन् ।

हेटौंडा–४ स्थित गर्दोइमा हेटौंडा स्पोर्ट्स एकेडेमीले सञ्चालन गरेको ग्रासरुट क्रिकेट प्रशिक्षण (क्रिकेट एकेडेमी)मा रहेका खेलाडीसँग आफ्नो अनुभव बाँड्न लामिछाने बुधबार हेटौंडा आएका हुन् । 

नेपाली खेलकुद इतिहासमा सफल खेलाडी लामिछानेसँग थुप्रै अन्तर्राष्ट्रियस्तरमा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागी भइसकेको अनुभव छ । उनले एकेडेमीमा करिब दुई घण्टा बिताए । एकेडेमी सञ्चालक कोविद बानियाँका अनुसार नयाँ खेलाडीको हौसला बढाउन लामिछानेको भ्रमणले थप मद्दत पुग्ने दाबी गरे ।

आगमी दिनमा पनि जुनियर खेलाडीको हौसला बढाउन, स्किल वृद्धि गर्न र आवश्यक सहयोगका लागि अन्य राष्ट्रिय खेलाडीलाई ऐकेडेमीको भ्रमण गराउने तयारी भइरहेको सञ्चालक बानियाँले बताए । एकेडेमीमा करिब ५० जनाभन्दा धेरै खेलाडीले प्रशिक्षण लिइरहेका छन् । ‘धेरैभन्दा धेरै जुनियर खेलाडीलाई प्रशिक्षणको माध्यमबाट राष्ट्रिय टोलीको सदस्य बनाउने हाम्रो लक्ष्य हो । त्यसका लागि एकेडेमीले विभिन्न तरिकाबाट मिहिनेत गरिरहेको छ,’ उनले भने ।

लामिछानेले खेलाडीहरूलाई अनुशासनमा रहेर दृढ विश्वाससहित अगाडि बढेको खण्डमा अवश्य सफल भइने टिप्स दिए । 'क्रिकेटमा भविष्य खोज्नका लागि मिहिनेत आवश्यक छ,' लामिछानेले भने, 'मिहिनेत गर, अवश्य सफल भइन्छ ।'

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully