शीर्ष ६ स्थानमा पर्न नसकेपछि बागमती प्रदेशले अर्को सिजनको महत्वपूर्ण प्रतियोगिता गुमाउने
What you should know
(जनकपुर) र (पर्सा) — लुम्बिनी प्रदेशले मंगलबार बागमती प्रदेशविरुद्ध महत्त्वपूर्ण विजय हात पार्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कम्तीमा शीर्ष ६ भित्र पर्ने निश्चित गरेको छ । लुम्बिनीले शीर्ष ६ का लागि निर्णायकजस्तै रहेको खेलमा बागमती प्रदेशलाई ३४ रनले हराएको थियो ।
टस जितेर ब्याटिङ रोजेको लुम्बिनी जनकपुरस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय रंगशालाको क्रिकेट मैदानमा ४५.२ ओभरमा २ सय ३३ रनमा अलआउट भयो । जबाफमा बागमती ४४ ओभरमा १ सय ९९ रनमै अलआउट भयो । यो पराजयपछि बागमती आठौं स्थानमा झरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आउँदो सिजनको जय ट्रफी दुईदिवसीय राष्ट्रिय प्रतियोगितामा ६ टोली खेलाउने निर्णय गरेको थियो । यसअघि पीएम कपका शीर्ष चार टोलीले मात्र जय ट्रफीमा खेल्दै आएको थियो । बागमतीमाथि विजय हात पार्दै लुम्बिनी पाँचौं स्थानमा उक्लेको छ । लुम्बिनीको अझै एक खेल बाँकी छ । त्रिभुवन आर्मी क्लब १५ र सुदूरपश्चिम प्रदेशले १२ अंकसहित शीर्ष दुई स्थानमा रहेर फाइनल खेल्ने निश्चित गरिसकेको छ ।
नेपाल एपीएफ क्लब ११ अंकसहित चौथो स्थानमा छ । नेपाल पुलिस क्लब, लुम्बिनी, मधेश र गण्डकी प्रदेश समान ९ अंकसहित क्रमशः पाँचौंदेखि सातौं स्थानमा छन् । नेट रनरेटका आधारमा यी तीन टोलीमा गण्डकी पछाडि छ । तर बुधबार हुने राउन्ड रोबिन लिगको अन्तिम खेलमा मधेशलाई पुलिसले पराजित गरेमा गण्डकी रन रेटमा अगाडि आउन सक्नेछ ।
बागमती ८ अंकसहित आठौं स्थानमा छ । अघिल्लो दुई सिजन शीर्ष चारमा पर्दै दुईदिवसीय संरचनाको जय ट्रफी खेलेको बागमतीले यसपालि शीर्ष ६ स्थानमा पर्न नसकेपछि अर्को सिजनको महत्त्वपूर्ण प्रतियोगिता गुमाउने छ । कर्णाली ३ र कोशी १ अंकसहित नवौं र दसौं स्थानमा छ । सहभागी १० टोली राउन्ड रोबिन लिगमा एकअर्काविरुद्ध खेलेपछि शीर्ष दुई टोली फाइनल खेल्ने प्रावधान छ ।
ओपनर रञ्जित खड्का ४ रनमै आउट भए पनि प्रज्ज्वल थापा, कप्तान देव खनाल र आकाश त्रिपाठीको प्रयासमा लुम्बिनीले जनकपुरमा चुनौतीपूर्ण स्कोर बनाएको थियो । रनआउट हुनुपूर्व ओपनर प्रज्ज्वलले ६२ बल खेल्दै ७ चौकासहित ४६ रन बनाए । देवले ५६ बलमा ५ चौकासहित ३७ रन जोडे । आकाशले सर्वाधिक ७२ रन बनाए । उनले ७२ बल नै खेलेर ९ चौका र १ छक्का प्रहार गरे । दिनेश बोहराले १४, सन्तोष यादवले २७ बलमा २ चौकासहित २५, दर्श सुनारले ७, निर्मल गुरुङले २ र विप्रसन केसीले १३ रन बनाए । बागमतीबाट कप्तान सन्दीप लामिछाने र विवेक रानामगरले ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा ४४ र विवेकले ७ ओभरमा ३३ रन खर्चे । रिजन ढकालले ८.२ ओभरमा ४० रन खर्चेर २ र प्रतिश जिसीले १ विकेट लिए ।
बागमतीबाट विवेकले सर्वाधिक ४५ रन बनाए । उनले ४९ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । आशुतोष घिरैया १५, शुभ कंसाकार १२, रिङजिन लामा १६, इशान पाण्डे १७, सोनु देवकोटा शून्यमा आउट भए । उत्तम थापामगरले ६१ बल खेल्दै २ चौकासहित २३, रिजन ४ र प्रतिश १४ रनमा आउट भए । दसौं नम्बरमा ब्याटिङ गरेका सन्दीपले ३६ बलमा २ चौकासहित ३२ रन बनाए ।
निर्मलले ५ विकेट लिँदै लुम्बिनीलाई महत्त्वपूर्ण विजय दिलाएका थिए । उनी १० ओभरमा ४ मेडन राख्दै २७ रन खर्चेर प्लेयर अफ द म्याच बने । विप्रसनले ८ ओभरमा १७ र दिनेशले ३ ओभरमा ८ रन खर्चेर २–२ तथा अजय चौहानले १ विकेट लिए ।
कर्णालीको सम्भावना कायमै
विपिन खत्री चम्किएपछि वीरगन्जमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशमाथि ९ विकेटको सहज जित हात पारेको छ । टीबी शाह क्रिकेट मैदानमा गण्डकीले उत्कृष्ट बलिङ र सशक्त ब्याटिङ प्रदर्शन गर्दै एकतर्फी नतिजा निकालेको हो ।
टस जितेर फिल्डिङ रोजेको गण्डकीले कर्णालीलाई २५.२ ओभरमा ७२ रनमै समेट्यो । कर्णालीका प्रकाश जैसीले ३६ बलमा अविजित १५, दिवान पुनले २७ बलमा १४ र अर्जुन घर्तीले २१ बलमा १३ रन बनाए । गण्डकीका विपिनले १० ओभरमा ४ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए । अपराजित पौडेलले ७ ओभरमा २८ रन दिएर ३ तथा सुवास भण्डारी र कमल परियारले १–१ विकेट लिए ।
गण्डकीले १३.१ ओभरमै लक्ष्य पूरा गर्यो । अर्जुन कुमाल ६ रनमा आउट भए पनि सिव्रिन श्रेष्ठ ३४ बलमा ४० र दीपक डुम्रे १८ बलमा २२ रन बनाएर अविजित रहे । विपिन शर्माले ५ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।
