नेपाल पुलिस क्लब गण्डकी सिधै क्वाटरफाइनलमा

घरेलु टिम लमजुङको भोटेओडारस्थित बुद्ध युथ क्लब अनुपस्थित भएपछि दोस्रो दिन बुधबार नेपाल पुलिस क्लब गण्डकी खेलै नखेली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

वैशाख २, २०८३

आश गुरुङ

Nepal Police Club Gandaki advances directly to the quarterfinals

लमजुङ — लमजुङको घलेगाउँमा आयोजित नवौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कपमा नेपाल पुलिस क्लब गण्डकी सिधै क्वाटरफाइलनमा प्रवेश गरेको छ ।

भोटेओडारस्थित बुद्ध युथ क्लब अनुपस्थित भएपछि दोस्रो दिन बुधबार नेपाल पुलिस क्लब गण्डकी खेलै नखेली क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बुद्ध युथ क्लबको अनुपस्थितिमा नेपाल पुलिस क्लब गण्डकीले आयोजक पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँसँग मैत्रीपूर्ण खेल खेल्यो । खेलमा नेपाल पुलिस क्लबले आयोजक टिमलाई ३–१ गोलले हरायो ।

बिहीबारको पहिलो खेल स्वर्गभूमि रंगशालामा बिहान ९ बजे एनके फुटबल क्लब पोखरा र घरेलु टिम त्रिवेणी युवा क्लब बेँसीसहरबीच हुनेछ । दोस्रो खेल बौद्ध शान्ति युवा क्लब रामघाट पोखरा र फ्रेन्डसिप युथ क्लब तनहुँबीच हुने खेल संयोजक सिजन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा विजेताले ८ लाख रुपैयाँसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ५ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालले जनही १० हजार रुपैयाँ पाउँने छन् । क्वाटरफाइनलदेखि प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषणा गरी २ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले जनाएको छ । पुरस्कारमा करकट्टी हुने आयोजकले जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully