राष्ट्रिय जागृति इटहरी गोल्डकपको पहिलो खेलमै स्तब्ध

बुधबार राति भएको तेस्रो क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सातदोबाटो सेमिफाइनल प्रवेश गरेको हो ।

वैशाख २, २०८३

अर्जुन सुवेदी

National Awakening Itahari shocked in the first game of the Gold Cup

सुनसरी — सातदोबाटो युथ क्लब ललितपुर १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

बुधबार राति भएको तेस्रो क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सातदोबाटो सेमिफाइनल प्रवेश गरेको हो ।

इटहरी रंगशालामा सम्पन्न खेलमा सातदोबाटोलाई सेमिफाइनल पुर्‍याउन सुरजज्यु ठकुरी र समिर तामाङले १–१ गोल गरे । खेलको ३१औं मिनेटमा सुरजले झण्डै ३० यार्ड टाढाबाट हानेको बलले सिधै जाली चुमेको थियो । ३५औं मिनेटमा समिरले उत्कृष्ट गोल गरेर टिमलाई पहिलो हाफमै २–० को अग्रतामा पुर्‍याए । 

जागृतिका डिफेण्डरको कमजोरीको फाइदा उठाउँदै राज भुषालले प्रहार गरेको बल गोलपोष्टमा लागेर फर्किएको थियो । सोही बललाई समिरले गोलमा परिणत गरेका हुन् ।

दोस्रो हाफमा खेलमा फर्केने जागृतिको प्रयास सफल नभएपछि यस पटक पनि आयोजक टिम पहिलो खेलबाटै घर फर्कन बाध्य भयो । समिर प्लेयर अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पार्न सफल भए । 

आजको विजेता सातदोबाटोले भोलि बिहीबार हुने प्लानिङ बोइज युनाइटेड र युनाइटेड खर्साङ फुटबल क्लब युकेएफसीबीचको विजेतासँग शनिबार हुने अन्तिम सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ ।

फाइनल खेल ७ वैशाखमा हुनेछ । फाइनल विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

अर्जुन

Link copied successfully