समूह ‘ए’ बाट भारत विजेता र श्रीलंका उपविजेताका बन्दै सेमिफाइनलमा पुगे ।
काठमाडौँ — आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रीय छनोट) को ब्वाइजतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।
समूह ‘ए’ बाट भारत विजेता र श्रीलंका उपविजेताका बन्दै सेमिफाइनलमा पुगे । समूह ‘बी’ बाट पाकिस्तान र नेपालले क्रमशः पहिलो र दोस्रो भएर सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा भारतले नेपाल र श्रीलंकाले पाकिस्तानविरुद्ध खेल्नेछन् ।
सेमिफाइनल जित्ने टोली सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिंगापुरमा हुने एसियाली फाइनल चरणलाई छनोट हुनेछ । ब्वाइजमा बंगलादेशबाहेक दक्षिण एसियाका ६ राष्ट्र प्रतिस्पर्धी छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइएको थियो ।
सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार ब्वाइज/गर्ल्समा २–२ खेल भएको थियो । नेपालको दुवै टोलीले प्रतिस्पर्धा गरेको थियो । दुवैमा नेपाल समान ३–० को नतिजामा पराजित भयो ।
ब्वाइजमा पाकिस्तानले नेपाललाई हरायो । सिंगल्समा पाकिस्तानका मुहम्मद आयानले सभ्यजंग कार्कीलाई ६–०, ६–२ र मुहम्मद गिलले आरित मल्ललाई ६–२, ६–१ को सोझो सेटमा हराए । डबल्समा मुहम्मद फाइजन र गिलको जोडीले शहंश बस्नेत र सभ्यजंगको जोडीलाई ६–२, ६–१ ले हरायो । ब्वाइजमै भारतले श्रीलंकालाई ३–० ले हरायो ।
५ राष्ट्र सहभागी गर्ल्सको राउन्ड रोबिन लिगमा भारत र माल्दिभ्स विजयी भयो । भारतले नेपाललाई ३–० ले हरायो । सिंगल्समा भारतकी पी चटर्जीले आर्या पौडेललाई ६–२, ६–१ ले र भारतकी अशिष कौरले सारा पन्तलाई ६–०, ६–२ तथा डबल्समा भारतका चौधरी र आशिषको जोडीले नाइरा घले र सारा पन्तको जोडीलाई ४–६, ६–३, १०–४ ले पराजित गरे । माल्दिभ्सले पाकिस्तानमाथि ३–० को जित पायो ।
गर्ल्सतर्फ २–२ खेलेका भारत, श्रीलंका र नेपालले क्रमशः २, २ र १ खेलमा जित पाएका छन् । माल्दिभ्स र पाकिस्तानले ३–३ खेल खेलिसकेको छ । माल्दिभ्सले १ मा जित निकालेको छ भने पाकिस्तान जितविहीन छ । गर्ल्समा पनि शीर्ष दुई स्थानमा टोली एसियाली फाइनललाई छानिने छ
