सहिद मैदानमा सोमबार भएको रोमाञ्चक तेस्रो क्वाटरफाइनलमा पूर्वविजेता मछिन्द्र फुटबल क्लबलाई ‘सडन डेथ’ मा पराजित गर्दै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो ।
सुनसरी — विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सहिद मैदानमा सोमबार भएको रोमाञ्चक तेस्रो क्वाटरफाइनलमा पूर्वविजेता मछिन्द्र फुटबल क्लबलाई ‘सडन डेथ’ मा पराजित गर्दै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो सडन डेथबाट गरिएको थियो । टाइब्रेकरमा दुवै टोलीबाट ५–५ गोलको बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको हो ।
सडन डेथमा पुलिसका सुजन मगरले गोल गर्दा मछिन्द्रका श्याम मुर्मुको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले बचाएका थिए । पुलिसलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका गोलरक्षक शत्रुधन खेलको ‘प्लेयर अफ द म्याच’ भए । टाइब्रेकरमा पुलिसका तर्फबाट राम वाजी, सञ्जीव लामा, भरत शाह, जोन विष्ट र गोलकिपर शत्रुधन चौधरीले गोल गरे । मछिन्द्रका तर्फबाट रोहित चन्द, दिवाकर चौधरी, रोमन भुजेल, विशाल भण्डारी र देवेन्द्र तामाङले गोल गरेका थिए ।
यसअघि प्रतिस्पर्धात्मक खेलको २९ औं मिनेटमा धीरेन्द्र शाहको गोलबाट पुलिसले अग्रता लिएको थियो । ओसेन्द्र कटुवालको पासलाई सदुपयोग गर्दै उनले टिमलाई अग्रता दिलाएका थिए । तर, पुलिसको त्यो अग्रता धेरै समय टिक्न सकेन । खेलको ३४ औं मिनेटमा मछिन्द्रका सौरभ लिम्बूले डी-बक्सभित्रबाट हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनल खेल घरेलु टोली सम्राट स्पोर्टिङ क्लब र भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोर्ट्स एकेडेमीबीच हुने आयोजकले जनाएको छ ।
