वैसाख ७ सम्म सञ्चालन हुने प्रतियोगिता विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
सुनसरी — १६औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो क्वाटरफाइनलमा आज साविक विजेता मछिन्द्र फुटबल क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ ।
खेल साँझ ६ः३० बजे इटहरी रंगशालामा सुरु हुनेछ । आजको खेलको विजेताले सेमिफाइनलमा युवा समाज मोरङसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । युवा समाजले उद्घाटन खेलमा जस्ट जोन एफसी नाइजेरियालाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाइसकेको छ ।
इटहरी गोल्डकपमा दोस्रो पटक सहभागिता जनाउन लागेको मछिन्द्र र झापा–११ बीच अघिल्लो संस्करणमा पनि क्वाटरफाइनलमै भेट भएको थियो । त्यसबेला मछिन्द्रले १–० को संघर्षपूर्ण जित निकालेको थियो । सोही हारको बदला लिने लक्ष्यसहित झापा–११ मैदान उत्रने तयारीमा छ ।
यता, मछिन्द्र झापामाथिको आफ्नो दबदबा कायम राख्दै भर्खरैको विराट गोल्डकपमा भोगेको हार बिर्सने रणनीतिमा छ । मछिन्द्र गएराति मात्र विराट गोल्डकपमा विभागीय टोली नेपाल पुलिस क्लबसँग सडेन डेथमा पराजित भएको थियो ।
वैसाख ७ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
