प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा दुई पूर्वविजेता टोलीहरू विभागीय टोली नेपाल पुलिस क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ ।
सुनसरी — घरेलु टोली सम्राट स्पोर्टिङ क्लब पहिलो सहभागितामै विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोर्ट्स एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सम्राटले अन्तिम चारको यात्रा तय गरेको हो । एक गोलले पछि परेको स्थिति उल्ट्याउादै जित निकालेको सम्राटले अब फाइनल प्रवेशका लागि वैशाख ३ गते चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको सुरुआतदेखि नै आक्रामक रणनीति अपनाएको विर्सामुण्डाले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । ४४ औं मिनेटमा शंकर किस्कुले गोल गर्दै पाहुना टोलीलाई १–० को अग्रता दिलाए । खेलको ५० औं मिनेटमा सम्राटले बराबरी गोल फर्कायो । सौरव तामाङको उत्कृष्ट क्रस पासलाई मौसम लिम्बूले डी–बक्सभित्रबाट गोलमा परिणत गरे । खेलको ८६ औं मिनेटमा प्रताप तामाङले गोल गर्दै सम्राटलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गरिएको अतिरिक्त समयमा प्रतापले नै व्यक्तिगत दोस्रो गोल थप्दै ३–१ को जित सुनिश्चित गरे । उत्कृष्ट प्रदर्शन गरेका प्रताप तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा दुई पूर्वविजेता टोलीहरू विभागीय टोली नेपाल पुलिस क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
