स्वर्गभूमि रंगशालामा भएको मंगलबारको पहिलो दिनको खेलमा साविक विजेता गन्नी एफसी पोखराले घरेलु टिम नाल्मा–११ बेंसीसहरलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
What you should know
लमजुङ — स्मार्ट भिलेजले चिनिने लमजुङको घलेगाउँमा मंगलबारदेखि ‘नवौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ ।
स्वर्गभूमि रंगशालामा भएको पहिलो दिनको खेलमा साविक विजेता गन्नी एफसी पोखराले घरेलु टिम नाल्मा–११ बेंसीसहरलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
बेंसीसहरको सहजी खेल मैदानमा गत पुसमा सम्पन्न त्रिवेणी कपको ३३ औं संस्करणमा उपविजेता बनेको नाल्माले घलेगाउँमा भने नाल्मा–११ को नामबाट सहभागिता जनाउँदै आएको छ । त्रिवेणी कपमा भने लाङ्दीदेवीको नामबाट टिम खेलाउने गरेको छ ।
गन्नीको विजयमा दिनेश हेन्जनले ह्याट्रिक गरे । उनी ‘म्यान अफ दी म्याच’ भए । खेलको सुरुवाती ७ औं मिनेटमा गोल गरेका उनले दोस्रो हाफको ८ र २४ औं मिनेटमा गोल गरे । गन्नीका तर्फबाट पहिलो हाफको अन्तिम समय ४० औं मिनेटमा सजिन मगरले गोल थपे । गन्नी फुटवल क्लब २ जना राष्ट्रिय टिमका खेलाडीसहित मैदानमा उत्रिएको थियो ।
देशभरका १२ टिमलाई आमन्त्रण गरी सञ्चालन गरिएको नवौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप एक सातासम्म सञ्चालन हुनेछ । खेल उद्घाटन गर्दै पूर्वमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले खेलकुदका माध्यमबाट ग्रामीण पर्यटन र मास पर्यटनको विकास गर्न सकिने बताए । क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले घलेगाउँले खेलकुदको माध्ययबाट सुरुवात गरेको पर्यटन प्रवर्द्धनका कार्यक्रमको सिको गर्नुपर्नेमा जोड दिए ।
आयोजक पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार विजेताले ८ लाख रुपैयाँसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ५ लाख पाउनेछ ।
घलेगाउँको स्वर्गभूमि रंगशालामा हरेक वर्ष वैशाख १ गते फुटबल मेला आयोजना हुँदै आएको छ, जसलाई वैशाख बजारका नामले चिनिन्छ । पछिल्लो वर्षको प्रतियोगिता नियमित हुन नसकेपछि उत्तरकन्या युनाइटेड युथ क्लबको पहलमा वि.सं. २०७३ देखि स्मार्ट भिलेज गोल्डकप सञ्चालनमा आएको थियो ।
आयोजक समितिका सचिव उमलबहादुर विकका अनुसार पछिल्लो वर्ष घलेगाउँमा महोत्सव मनाउन छाडिएसँगै पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले यसैलाई एउटा उत्सवका रूपमा अघि सारेको छ । देशभरका फुटबल क्लबलाई आमन्त्रण गरी स्मार्ट भिलेज गोल्ड कप सञ्चालन गरिएको यो तेस्रो वर्ष हो ।
