आईटीएफ एसिया जुनियर टेनिसमा नेपालको विजयी सुरुआत

५ दिने प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र श्रीलंकाका ३३ खेलाडी सहभागी छन् ।

चैत्र ३०, २०८२

विनोद पाण्डे

Nepal's winning start in ITF Asia Junior Tennis

What you should know

काठमाडौँ — आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन, दक्षिण एसियाली क्षेत्रीय छनोट इभेन्ट सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ । ५ दिने प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र श्रीलंकाका ३३ खेलाडी सहभागी छन् ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा दक्षिण एसियाली देशमा बंगलादेशले सहभागिता जनाएको छैन । भुटानबाहेक अन्य सबै देशका ब्वाइज र गर्ल्समा ३–३ खेलाडी छन् । टिम स्पर्धाका आधारमा हुनेछ । २ सिंगल्स, १ डबल्स विधामा प्रतिस्पर्धा हुनेछ । २ खेल जित्ने टोली विजयी हुनेछ ।

Nepal's winning start in ITF Asia Junior Tennis

नेपाल पुरुषतर्फ समूह ‘बी’ मा पाकिस्तान र माल्दिभ्ससँगैं छ । समूह ‘ए’ मा भारत, श्रीलंका र भुटान छन् । महिला र पुरुषको शीर्ष दुई टोलीले सेप्टेम्बर १५ देखि २० सम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगिता खेल्न पाउनेछन् । अजय विष्ट प्रतियोगिताको निर्देशकका रूपमा छन् । इस्ट, वेस्ट र दक्षिण एसियाली क्षेत्रका आईटीएफ डेभलपमेन्ट अफिसर जोनाथन स्टब्सको रोहबरमा प्रतियोगिता भइरहेको छ ।

आईटीएफ सिल्भर ब्याज रेफ्री सुप्रित काडाभिगेर छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रामचरित्र मेहताले प्रतियोगिताका निर्देशक विष्टलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेका थिए । नेपाल टेनिस संघका अध्यक्ष मनोहर दास मुल, नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी देलपितियाले खेलाडीलाई शुभकामना दिए । ‘उत्साहका साथ खेल्नुस, प्रतिद्वन्द्वीलाई सम्मान गर्नुस् र खेलको मजा लिएर खेल्नुस्, जसले तपाईंलाई राम्रो खेलाडी बनाउँछ,’ दासले उद्घाटन समारोहमा भने ।

Nepal's winning start in ITF Asia Junior Tennis

सन् २०१७ देखि एटीएफले यो कार्यक्रम सञ्चालन गरेको थियो । त्यसयता नेपालले २०१७, २०१८, २०२२ र २०२४ मा यो प्रतियोगिता आयोजना गरिसकेको छ । २०१७, २०१८ र २०१९ मा नेपालको पुरुष टोली र २०१८ मा महिला टोली फाइनल पुग्दै एसिया छनोटमा पुगेका थिए ।

सोमबार सुरु नेपालका दुवै टोलीले विजयी सुरुआत गरेको छ । ब्वाइजतर्फ नेपालले माल्दिभ्सलाई ३–० ले हरायो । नेपालका सभ्यजंग कार्कीले रायन मोहम्मदलाई ६–०, ६–० ले र आरित मल्लले जब्रिल जब्बरलाई ६–०, ६–० ले हराए । डबल्समा नेपालका सहंश बस्नेत र आरितको जोडीले अहमद साहहान र रायनको जोडीलाई ६–२, ६–० को सेटमा हरायो ।

Nepal's winning start in ITF Asia Junior Tennis

गर्ल्सतर्फ समूह ‘ए’ मा नेपालले पाकिस्तानलाई ३–० ले हरायो ।   नेपालका आर्या पौडेलले साहरिन उमरलाई ६–२, ६–० र सारा पन्तले साहनुर उमरलाई ६–०, ६–१ को सोझो सेटमा हराए । डबल्समा नाइरा घले र साराको जोडीले साहरिन र साहनुरको जोडीलाई ६–३, ६–० ले हराए । ब्वाइजको समूह ‘ए’ मा श्रीलंकाले भुटानलाई ३–० तथा गर्ल्सको समूह ‘ए’ मा श्रीलंकाले माल्दिभ्स २–१ ले हरायो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully