नेपालले इन्दु बर्माको कप्तानीमा रुवान्डामा हुने आईसीसी वुमन्स च्यालेन्ज ट्रफीका लागि सोमबार १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ ।
काठमाडौँ — नेपालले इन्दु बर्माको कप्तानीमा रुवान्डामा हुने आईसीसी वुमन्स च्यालेन्ज ट्रफीका लागि सोमबार १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । पूजा महतो नेपाली टोलीको उपकप्तानको रुपमा रहेकी छन् ।
नेपाली टोलीमा स्थान पाउने अन्य खेलाडीहरुमा विन्दु रावल, सम्झना खड्का, रुबि पोदार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनीषा उपाध्याय, रुविना क्षेत्री र रचना चौधरी रहेका छन् । दोस्रो चरणका लागि छनोट भएका १८ सदस्यीयमा सीमाना केसी, सोनी पाख्रिन, साना प्रविण र सावित्रा धामीले स्थान बनाउन सकेनन् ।
नेपालले अप्रिल १८ देखि मे १ सम्म रुवान्डामा हुने प्रतियोगितामा अमेरिका, भानुआटु र रुवान्डासँग डबल राउन्ड रोबिन लिगमा प्रतिस्पधा गर्नेछ । नेपाली महिला टोली पहिलो पटक रुवान्डा गएर खेल्न लागेको हो ।
इन्दु यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा फर्किएकी छन् । जनवरीमा काठमाडौंमा भएको वुमन्स टी–२० विश्वकप छनोटको स्कटल्यान्डसँगको खेलमा घाइते भएपछि इन्दु मैदान बाहिर रहेकी थिइन्, जसको कारण उनले फेब्रुअरीमा थाइल्यान्डको बैंककमा भएको वुमन्स एसिया कप राइजिङ स्टार्स गुमाएकी थिइन् । इन्दुको स्थानमा पुजाले बैंककमा नेपालको कप्तानी गरेकी थिइन् ।
