रात्रिकालीन आयोजना हुने पहिलो खेलले दर्शकमा उत्साह थप्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
सुनसरी — १६औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
आज बेलुका ६ः ३० मा हुने प्रतियोगिताको उद्घाटन खेलमा जस्ट जोन फुटबल क्लब नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा हुँदै छ।
रात्रिकालीन रूपमा आयोजना हुने पहिलो खेलले दर्शकमा उत्साह थप्ने अपेक्षा गरिएको आयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष अध्यक्ष केशव कार्कीले बताए । विजेताले १० लाख रुपैयाँ नगदसँगै ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।
यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ, प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २० हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ।
राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा हुने प्रतियोगितामा नेपाल र विदेशका गरी ८ टोली सहभागी छन्। प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ।
