गोर्खा ब्वाइज स्पोर्ट्स क्लबका तर्फबाट निराजन खत्रीले खेलको १४ औं मिनेटमा गोल गरेर टिमलाई जित दिलाएका हुन् ।
What you should know
नेपालगन्ज — सोमबारबाट सुरु एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवलले विजयी सुरुवात गरेको छ । डिगाउँस्थित मिनी रंगशालामा भएको पहिलो खेलमा संकटा स्पोर्ट्स क्लब काठमाडौंलाई १–० गोलले हराउँदै गोर्खा ब्वाइजले विजयी सुरुवात गरेको हो ।
विजयी भएसँगै गोर्खा ब्वाइजले आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको छ । गोर्खाका तर्फबाट निराजन खत्रीले खेलको १४ औं मिनेटमा गोल गरेर टिमलाई जित दिलाएका हुन् । ‘प्लेयर अफ द म्याच’ भएका निराजनले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजना तथा खजुरा गाउँपालिकाको संरक्षकत्वमा प्रतियोगिता सुरु भएको हो ।
कार्यक्रममा प्रतियोगिताका संयोजक एवं न्यु डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्री, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक, पालिका उपाध्यक्ष मञ्जु मल्लसहित अतिथिहरूको उपस्थिति रहेको थियो । प्रतियोगिता उद्घाटनअघि परम्परागत बाजागाजासहित झाँकी निकालिएको थियो ।
प्रतियोगितामा ८ टिम सहभागी भएको प्रतियोगिताका संयोजक खत्रीले जानकारी दिए । नकआउटका आधारमा खेलाइएको प्रतियोगिता वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उप–विजेताले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई प्रदान गरिने पुरस्कार राशि अमेरिकामा रहेका खजुराबासी लिलबहादुर थापाले बेहोरेको प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । उनका अनुसार प्रतियोगिता अवलोकन गर्नका लागि प्रतिव्यक्ति ५० रुपैयँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।
