आसिफ शेखको दोहोरो शतकमा एपीएफद्वारा मधेश ७४ रनले पराजित

टस जितेर पहिले फिल्डिङ रोजेको मधेशविरुद्ध एपीएफले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९० रनको विशाल योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको मधेश प्रदेश ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १६ रनमा समेटियो ।

चैत्र ३०, २०८२

शंकर आचार्य

Asif Sheikh's double century sees APF defeat Madhesh by 74 runs

What you should know

पर्सा — गृहनगर वीरगन्जमा सोमबार आसिफ शेखले प्रधानमन्त्री कपको इतिहासमै पहिलो दोहोरो शतक बनाउँदा विभागीय टोली एपीएफले मधेश प्रदेशलाई ७४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । 

एपीएफका लागि आसिफ शेखले विस्फोटक ब्याटिङ गर्दै १ सय ४२ बलमा २ सय ८ रनको शानदार दोहोरो शतक प्रहार गरे। उनले आफ्नो इनिङ्समा १७ छक्का र १५ चौका प्रहार गरेका थिए। उनी रिटार्यड भए ।

मैदानमा दुवै टिमले कीर्तिमानी वीरगन्जस्थित टीबी शाह क्रिकेट मैदानमा सोमबार रनको वर्षा गरेका थिए । दुबै टोलीले सोमबार ठूलो स्कोर बनाउँदा मैदानमा कूल ७ सय ६ रन बनेको थियो । टस जितेर पहिले फिल्डिङ रोजेको मधेशविरुद्ध एपीएफले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९० रनको विशाल योगफल खडा गरेको थियो। प्रधानमन्त्री कपको इतिहासमा यो हालसम्मकै सर्वाधिक योगफल पनि हो । एपीएफका सन्दीप जोराले ४२ बलमा ५६ रन जोड्दा रोहित पौडेलले ७३ बलमा ५५ रन बनाए।

मधेशका बलरमध्ये रुपेश सिंहले १० ओभरमा ८० रन खर्चेर ३ विकेट लिए भने रन्जित कुमारले १० ओभरमा ४४ रन दिएर १ विकेट हात पारे।

जवाफी ब्याटिङमा उत्रिएको मधेश प्रदेश ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १६ रनमा समेटियो । मधेशका लागि एमडी आदिल आलमले ४३ बलमा ८७ रन बनाउँदा अरनिको यादवले ७३ बलमा ८६ रनको योगदान दिए। तर अन्य ब्याट्सम्यानले अपेक्षित साथ दिन नसक्दा टोली लक्ष्यसम्म पुग्न सकेन।

एपीएफका लागि अविशेक गौतमले १० ओभरमा ८० रन खर्चेर ३ विकेट लिए भने कमल ऐरीले ७ ओभरमा ३७ रन दिएर २ विकेट हात पारे।

शानदार दोहोरो शतकसहित टोलीलाई जित दिलाएका आसिफ शेख ‘प्लेयर अफ द म्याच’ भए।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully