शीर्ष स्थानमा रहेको आर्मी मैदानमा नउत्रिए पनि फाइनल खेल्ने पक्का भएको हो ।
What you should know
जनकपुर — सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप (पीएम) क्रिकेट पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा आइतबार नेपाल पुलिस क्लबमाथि ५६ रनको सनसनी विजय हात पारेपछि त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ । यसले पुलिसको उपाधि ह्याट्रिक गर्ने सपनालाई चकनाचुर पारेको छ ।
शीर्ष स्थानमा रहेको आर्मी मैदानमा नउत्रिए पनि फाइनल खेल्ने पक्का भएको हो । हाल मधेश प्रदेशमा भइरहेको प्रतियोगितामा आफ्नो दुई खेल खेल्न बाँकी रहेको अवस्थामा आर्मीको १३ अंक छ । सबै ९ खेल खेलिसकेको सुदूरपश्चिम १२ अंकसहित दोस्रो स्थानमा छ । पुलिस ८ खेलमा ९ अंक जोडी तेस्रो स्थानमा छ ।
मधेश प्रदेश ७ खेलमा ९ अंक जोडी चौथो स्थानमा छ । मधेशले बाँकी रहेको आफ्नो दुई खेलमा नेपाल एपीएफ क्लब र पुलिसलाई पराजित गरेमा आर्मीसँग फाइनल खेल्नेछ, अन्यथा आर्मी र सुदूरपश्चिमबीच फाइनल खेल हुनेछ । सहभागी १० टोलीले राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने प्रावधान छ ।
जनकपुरको प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको सुदूरपश्चिम ४०.४ ओभर खेली १ सय ९१ रनमा अलआउट भयो । नारायण जोशीले ८० बलमा सर्वाधिक ८२ रन बनाए । प्लेयर अफ द म्याच उनले ७ चौका र ६ छक्का प्रहार गरे । सातौं नम्बरमा ब्याटिङ गरेका उनी आउट हुने नवौं खेलाडी थिए ।
ओपनिङ ब्याटर अभिषेक पाल ४, ब्याटर खड्ग बोहरा ३२ बलमा २२, राजु रिजाल २८ बलमा १६, किरण ठगुना २८ बलमा १९, अशोक धामी २१ बलमा १७ र हेमन्त धामी २६ बलमा २० रन बनाई आउट भए । पुलिसका दिनेश खरेलले ९ ओभरमा १ मेडन राख्दै १७ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । सागर ढकालले १० ओभरमा ५३ रन दिँदै ३, कुशल भुर्तेलले २ र गुलशन झाले १ विकेट लिए ।
जवाफमा आएको पुलिस ३५.१ ओभरमै १ सय ३५ रनमा अलआउट भयो । गुलशनले ५० रन बनाए । आउट हुने अन्तिम खेलाडी उनले ६४ बल खेली १ चौका र ५ छक्का प्रहार गरे । दिनेश २३ बलमा १०, अर्का ओपनर कुशल भुर्तेल शून्यमा नै पवेलियन फर्किए । दुवैलाई सुदूरपश्चिमका तीव्र बलर हेमन्त धामीले बोल्ड गरे । शंकर राना १०, अमित श्रेष्ठ १९, आरिफ शेख ४१ बलमा १९, दिलसाद अली २९ बलमा १९ रन बनाई आउट भए । हेमन्तले ९ ओभरमा २१ र शेर मल्लले १० ओभरमा ४९ रन दिएर ३–३ तथा खड्ग बोहरा, नारायण जोशी र अशोकले १–१ विकेट लिए ।
