अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकपको उपाधि आरटीएफसीलाई

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पथरीका मिलन राई बने । उनले नगद २५ हजार रुपैयाँ पाए ।

चैत्र २९, २०८२

अर्जुन सुवेदी

RTFC wins the International Invitational Bharoul Gold Cup title

सुनसरी — मलेसियाको आरटीएफसी सुनसरीको बराहक्षेत्रमा जारी नवौं संस्करणको अन्तराष्टि्रय आमन्त्रण भरौल गोल्डकपको पहिलो सहभागितामै च्याम्पियन बनेको छ । आइतबार सम्पन्न फाइनलमा मोरङको पथरी स्पोर्टिङ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै आरटीएफसी च्याम्पियन बनेको हो । 

न्यु स्टार क्लबको आयोजनामा स्थानीय जडेज खेल मैदान भरौलमा भएको खेलमा आरटीएफसीलाई उपाधि जिताउन रिचार्ड विलियमले २ तथा रिचार्ड विइचेनले १ गोल गरे । तीनवटै गोल पहिलो हाफमा भएको थियो । पहिलो हाफको १५ औं र २२ औं मिनेटमा विलियमले गोल गरे । त्यसको तीन मिनेटलगत्तै अर्का खेलाडी विइचेनले गोल गरेपछि आरटीएफसीले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा २ गोल फर्काए पनि पुनरागमन गर्ने पथरीको प्रयास अन्तिम समयसम्म सफल हुन सकेन । दोस्रो हाफको ११ औं मिनेटमा पथरीका टाम्पियो हबिज र १४ औं मिनेटमा डानियलले गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन ।

पहिलो सहभागितामै च्याम्पियन बनेको एनआरएन मलेसियाका उपाध्यक्ष एवं पूर्वराष्टि्रय खेलाडी राजु तामाङको टिम आरटीएफसीले नगद ४ लाख र उपविजेता पथरीले २ लाख रुपैयाँ जितेको छ । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पथरीका मिलन राई बने । उनले नगद २५ हजार रुपैयाँ पाए ।

विजेता तथा उपविजेता खेलाडीलाई बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी राई लगायतले पुरस्कार वितरण गरे । चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा दुई विदेशीसहित आठ टिमले प्रतिस्पर्धा गरेका थिए ।

अर्जुन

Link copied successfully