नेपाली कराते खेलाडी एरिका गुरुङ ऐतिहासिक स्वर्ण पदक जित्नबाट वञ्चित भएकी छन् ।
काठमाडौँ — नेपाली कराते खेलाडी एरिका गुरुङ ऐतिहासिक स्वर्ण पदक जित्नबाट वञ्चित भएकी छन् । चीनको सिचुवान प्रान्तस्थित लेसनमा भएको डब्लूकेएफ कराते वान प्रिमियर लिगको फाइनलमा पराजित भइन् ।
भर्खर सम्पन्न महिला ६८ केजीमाथि तौल समूहको फाइनलमा एरिका पहिलो वरीयताप्राप्त काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग प्रतिस्पर्धात्मक खेलमा २–१ अंकले पराजित भएपछि रजत पदकमै खुम्चिइन् ।
प्रिमियर लिगमा उनको यो दोस्रो रजत पदक हो । यसअघि एरिकाले जनवरीमा टर्कीको इस्तानबुलमा प्रिमियर लिगमै फाइनल पुगेर रजतमा रोकिएकी थिइन् । त्यति बेला पनि उनी सोफ्यासँगै पराजित भएकी थिइन् ।
लेसनमा अपराजित रहँदै फाइनल पुगेकी एरिकाले चिरपरिचित प्रतिद्वन्द्वी सोफ्याविरुद्ध एरिकाले चिनियाँ भूमिमा बदला लिने अवसर गुमाइन् ।
फाइनल पुग्ने क्रममा एरिकाले ५ फाइट जितेकी थिइन् । शनिबार सेमिफाइनलमा १२ औं वरीयताकी इटालीकी फेराकुटी क्लिओलाई ८–३ अंकले हराएर फाइनल सुरक्षित गरेकी थिइन् ।
यो तौलको कांस्य पदक स्लोभेनियाकी मारिया जिब्रेट जालाले जितेकी छन् । मारिया तिनै खेलाडी हुन्, जसलाई एरिकाले क्वाटरफाइनलमा एकपक्षीय रूपमा ८–० अंकले हराएकी थिइन् । कांस्य पदक भिडन्तमा मारियाले फेराकुटीले ७–४ ले हराएकी थिइन् ।
हिमालयन वारियर उपाधि पाएकी एरिकाले गत जेठमा मोरक्कोको रावतमा कांस्य पदक जित्दै कराते वान प्रिमियर लिगको यात्रा थालेकी थिइन् ।
चीनमै दुई वर्षअगाडि एरिकाले नेपालका लागि हाङचाउ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । जुन नेपालले एसियाडमा करातेबाट जितेको पहिलो रजत पदक थियो । त्यसयता उनले नेपाली करातेका लागि थुप्रै अन्तर्राष्ट्रिय पदकहरू जितिसकेकी छन् ।
