चर्च ब्वाइज विराट गोल्ड कपको सेमिफाइनलमा

५ वैशाखसम्म चल्ने रात्रिकालीन प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित क्लब गरी ८ टिमको सहभागिता छ ।

चैत्र २९, २०८२

अर्जुन सुवेदी

Church Boys reach semi-finals of Virat Gold Cup

सुनसरी — चर्च ब्वाइज युनाईटेड विराट गोल्ड कप फुटबल प्रतियोगिताका सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा आइतबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबमाथि १–० गोलअन्तरको जित निकाल्दै चर्च ब्वाइज अन्तिम ४ मा स्थान बनाउन सफल भएको हो ।

चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्याउन फरवार्ड समिर तामाङले निर्णायक गोल गरे । पहिलो हाफको २८औं मिनेटमा समिरले प्रहार गरेको बल एपीएफका खेलाडी सुरज गुरुङको खुट्टामा टच हुँदै गोलमा परिणत भएको थियो । खेलको 'प्लेयर अफ द म्याच' समिर भए । उनलाई नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठकले ११ हजार नगदसहित पुरस्कार प्रदान गरिन् ।

प्रतियोगिताअन्तर्गत सोमबारको तेस्रो क्वाटरफाइनल खेलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । यसअघि शनिबार राति भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै झापा ११ फुटबल क्लब सेमिफाइनल प्रवेश गरिसकेको छ ।

५ वैशाखसम्म चल्ने रात्रिकालीन प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित क्लब गरी ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । 

सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र अन्य विधागत उत्कृष्टलाई जनही १५–१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

अर्जुन

Link copied successfully