करणको टिप्पणीप्रति अम्पायर्स संघको आपत्ति

यस्तो अभिव्यक्तिले पेसागत सुरक्षा तथा आत्मसम्मानप्रति आघात गरेको ठहर अम्पायर्स संघले गरेको छ ।

चैत्र २८, २०८२

कान्तिपुर संवाददाता

Umpires' Association objects to Karan's comments

काठमाडौँ — नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर संघले प्रधानमन्त्री (पीएम) कप क्रिकेट राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेल्दै आएका राष्ट्रिय खेलाडी करण केसीले समाजिक सञ्जालमा गरेको टिप्पणीमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वीरगन्जमा शुक्रबार बागमती र मधेश प्रदेशबीचको खेलमा आउट नदिएको विषयमा बागमतीका कप्तान सन्दीप लामिछाने र अनफिल्ड अम्पायर कमलेश ठाकुरबीच भनाभन भएको थियो । बागमतीका मध्यम गतिका बलर प्रतिश जिसीले आदिल आलम अन्सारीविरुद्ध एलबीडब्लू आउटको अपिल गरे, तर अम्पायरले त्यसलाई अस्वीकार गरेका थिए ।

‘ट्रोल क्रिकेट’ नामको फेसबुक पेजले सन्दीप र अम्पायर ठाकुरबीच औंला ठड्याउँदै गरेको वादविवादको शुक्रबार प्रकाशित पोस्टमा करणले शनिबार कमेन्ट गर्दै भनेका थिए, ‘यदि कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने अर्थात गल्ती गरेर पिट्यो भने कति खेल निलम्बन हुन्छ ? सिर्फ सोधेको मात्र ?.. खेलाडीको ज्ञान र सुरक्षाका लागि ।’

तर अम्पायर्स र स्कोर संघले शनिबारै विज्ञप्तिमार्फत करणको उक्त कार्यको घोर भर्त्सना गरेको छ । संघका अध्यक्ष तथा म्याच रेफ्रीको भूमिकामा रहँदै आएका मोहम्मद सफिक (समीर खान) ले भनेका छन्, ‘नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर संघको आकस्मिक बैठक बसी नेपाल पुलिस क्लब र राष्ट्रिय खेलाडी करण केसीद्वारा अम्पायरको निर्णयसम्बन्धी सोसल मिडियामार्फत दिएको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ र यस्ता निन्दनीय कार्यको घोर भर्त्सना गर्दछौं ।’

यस्तो अभिव्यक्तिले हाम्रो पेसागत सुरक्षा तथा आत्मसम्मानप्रति आघात गरेको ठहर अम्पायर्स संघले गरेको छ । संघले यस्तो कार्यलाई निरुत्साहित गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग कडा कारबाहीका लागि माग गरेको छ ।

पीएम कपमा शनिबार कुनै खेल थिएन । क्यानले पछिल्लो घटनाक्रममा दोषी देखिएका खेलाडीलाई कारबाही नगरेमा अम्पायर तथा स्कोररहरूले प्रतियोगिता बहिष्कार गर्न लागेको एक अम्पायरले बताए ।

कान्तिपुर

Link copied successfully