झापाको जितमा स्ट्राइकर फागुराम थारू नायक बने। उनले खेलको १०औं र ४४औं मिनेटमा गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाए।
What you should know
सुनसरी — झापा-११ फुटबल क्लबले विराटनगरमा सुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
विराटनगरस्थित सहिद रंगशालामा शनिबार बेलुका भएको प्रतिस्पर्धात्मक खेलमा झापा–११ ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
झापाको जितमा स्ट्राइकर फागुराम थारू नायक बने। उनले खेलको १०औं र ४४औं मिनेटमा गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाए। उत्कृष्ट प्रदर्शन गरेका थारू ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँबाट पुरस्कृत भए। एन्फा उपाध्यक्ष दावा लामाको टिम प्लानिङ बोइजबाट खेल्दै आएका थारू यसपटक झापा–११ बाट विराट गोल्डकपमा सहभागी भएका हुन्।
आर्मीका लागि खेलको २३औं मिनेटमा नवीन लामाले एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त हुन सकेन।
प्रतियोगितामा तीन विभागीयसहित नेपाल र भारतका ८ टोली सहभागी छन्। सहभागी टोलीहरूमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ क्लब), मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाईज फुटबल क्लब, सम्राट स्पोर्टिङ क्लब, झापा-११ फुटबल क्लब तथा भारतको अल झारखण्ड बिरसा मुण्डा फुटबल एकेडेमी रहेका छन्।
ट्रस्टका प्रवक्ता धनकुमार लामाका अनुसार प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन्। आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान छ।
