प्रतियोगितामा सोलुखुम्बुकै मिलन राई २ घण्टा १ मिनेटसहित द्वितीय भए भने गोरखाका निरज भट्ट २ घण्टा ६ मिनेटमा लक्ष्य पार गर्दै तृतीय स्थानमा रहे ।
लमजुङ — लमजुङमा आयोजित खुला म्याराथन प्रतियोगितामा सोलुखुम्बुका अर्जुन कुलुङ प्रथम भएका छन् । उनले २६ किलोमिटर दूरी १ घण्टा ५९ मिनेटमा पूरा गर्दै उपाधि जिते ।
प्रतियोगितामा सोलुखुम्बुकै मिलन राई २ घण्टा १ मिनेटसहित द्वितीय भए भने गोरखाका निरज भट्ट २ घण्टा ६ मिनेटमा लक्ष्य पार गर्दै तृतीय स्थानमा रहे । तनहुँका आदित्य जिसी २ घण्टा ११ मिनेटमा दूरी पूरा गर्दै चौथो स्थानमा सीमित भए ।
लमजुङ जेसीज वर्ष २०२६ की अध्यक्ष खुशीमाया गुरुङका अनुसार प्रथम, द्वितीय, तृतीय र चौथो हुनेलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यसहित शनिबार बेंसीसहर नगरपालिका–१० पिसहिलबाट सुरु भएको म्याराथन सदरमुकाम बेंसीसहर हुँदै वडा नम्बर ३ स्थित गाउँसहर लमजुङ दरबारमा पुगेर टुंगिएको थियो ।
युवालाई खेलकुदतर्फ आकर्षित गर्दै सकारात्मक ऊर्जा सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जेसीजले जनाएको छ। प्रतियोगितामा ३० जना खेलाडी सहभागी भएका थिए ।
बेंसीसहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले यस्ता खेलकुद गतिविधिले स्वास्थ्य प्रवर्द्धनसँगै विश्व शान्तिको सन्देश फैलाउन सहयोग पुग्ने बताए ।
