लुम्बिनी मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

नवलपरासीलाई ३-० को सोझो सेटमा पराजित गर्दै गुल्मी दोस्रोपटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो ।

चैत्र २८, २०८२

दुर्गालाल केसी

Gulmi wins Lumbini Chief Minister's Cup men's volleyball title

दाङ — घोराहीमा शनिबार सम्पन्न मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले हात पारेको छ ।

नवलपरासीलाई ३-० को सोझो सेटमा पराजित गर्दै गुल्मी दोस्रोपटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो । गत वर्षको उपाधि पनि गुल्मीले नै हात पारेको थियो ।

गुल्मीले नवलपरासीलाई पहिलो सेटमा २५-१५, दोस्रो सेटमा २५-१३ र तेस्रो सेटमा २५-१५ ले हराएको हो । गुल्मीले उपाधिसँगै नगद १ लाख, ट्रफी र मेडल हात पारेको छ भने नवलपरासीले नगद ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाएकाे छ । 

लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी प्रतियोगितामा रूपन्देही तेस्रो र प्यूठान  चौथो भएका हुन् ।  रूपन्देहीले प्यूठानलाइ ३-१ को सेटमा हराउँदै  तेस्रो स्थान कायम गरेको हो । तेस्रो भएको रुपन्देहीले नगद ३५ हजार र चौथो भएको प्यूठानले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully