त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ९५–७४ स्कोरले पराजित गर्दै गोल्डेनगेटले उपाधि उचाल्यो ।
काठमाडौँ — गोल्डेनगेट बास्केटबल क्लब शनिबार हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ९५–७४ स्कोरले पराजित गर्दै गोल्डेनगेटले उपाधि उचाल्यो ।
गोल्डेनगेटले आर्मीसँग लिग चरणमो भोगेको हारको बदला लिएको छ । यसअघि लिग चरणमा दुई र पहिलो क्वालिफायरमा आर्मीले गोल्डेनगेटलाई हराएको थियो । पहिलो क्वाटरमा २४–१४ को अग्रता लिएको गोल्डेनगेटले दोस्रो क्वाटर १७–१२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो क्वाटरमा गोल्डेनगेटले २७–२५ स्कोर जोडेको गोल्डेनगेटले चौथो क्वाटर २७–२३ ले आफ्नो पक्षमा पारेर खेल जितेको हो । प्लेयर अफ द म्याच गोल्डेनगेटका जैन खान घोषित भए ।
नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाभाको मुख्य प्रायोजनमा आयोजना गरेको प्रतियोगितामा ८ टोली प्रतिस्पर्धी थिए । डबल राउन्ड रोबिन लिगमा भएको प्रतियोगिताका शीर्ष चार टोलीले प्लेअफ खेलेका थिए ।
विजेता गोल्डेनगेटले ४ लाख र उपविजेता आर्मीले २ लाख रुपैयाँ पुरस्कार पाए । पहिलो संस्करण विजेता टाइम्स बास्केटबल क्लब तेस्रो भयो । तेस्रो भएको टाइम्सले १ लाख हात पार्यो । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका गोल्डेनगेटका निकेश रखाल मगर मोस्ट भ्यालुएबल प्लेयर चुनिएका थिए ।
