सातदोबाटोस्थित नेपाल स्पोर्ट्स फेलोसिपको मैदानमा क्याम्प वैशाख ५ सम्म चल्नेछ । पहिलो दिन ६१ प्रशिक्षार्थी सहभागी थिए ।
काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन र गोलरक्षक विकेश कुथुद्वारा सञ्चालित टुभेल फुटबल ट्रेनिङ सेन्टरले शनिबारदेखि समर फुटबल क्याम्प सुरु गरेको छ ।
सातदोबाटोस्थित नेपाल स्पोर्ट्स फेलोसिपको मैदानमा क्याम्प वैशाख ५ सम्म चल्नेछ । पहिलो दिन ६१ प्रशिक्षार्थी सहभागी थिए । विद्यार्थीलाई ग्याजेटबाट केही समय भए पनि टाढा राख्ने उद्देश्यसहित उनीहरूको शारीरिक र मानिसिक स्वास्थ्यका साथै नेपालको लोकप्रिय खेल फुटबलमा सानै उमेरदेखि आकर्षित गर्ने योजना क्याम्पको रहेको छ ।
४ देखि १६ वर्षसम्मका बालबालिका रहेको यस क्याम्पको पहिलो दिनमा उमेर अनुसार समूह विभाजन गरेर प्रशिक्षण गराइएको थियो । विद्यार्थीलाई बिराजका साथै एएफसीद्वारा मान्यताप्राप्त प्रशिक्षकहरूले प्रशिक्षण दिने छन् । विकेश भने त्रिभुवन आर्मी फुटबल क्लबसँग विराट गोल्डकप खेल्न गएकाले क्याम्पमा सहभागी थिएनन् ।
बालबालिकाको वृद्धिलक्षित गर्दै डेभलपमेन्ट प्लान तयार गरेर सोहीअनुसार क्याम्प अवधिभर बालबालिकालाई प्रशिक्षण गराइने छ । नेपाल फुटबल खेलाडी संघका अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी विक्रम लामा र एजिसका प्रबन्ध निर्देशक सुरज मगरले टीएफटीसी समर फुटबल क्याम्पको उद्घाटन गरेका थिए । एजिस स्पोर्ट्स वेयर बिक्रेता कम्पनी हो ।
विगत ६ महिनादेखि बालबालिकाको फुटबल खेल कौशलको विकास र वृद्धिमा काम यस ट्रेनिङ सेन्टर गर्दै आएको छ । ट्रेनिङ सेन्टरले हरेक शनिबार ग्रासरुट प्रशिक्षण गराएको छ । यस क्याम्पमा सहभागीमध्येबाट सम्भावना देखिएका दुई प्रशिक्षार्थीले १ वर्ष टुभेल फुटबल ट्रेनिङ सेन्टरमा छात्रवृत्ति पाउने छन् ।
