नेपाल रग्बी संघले प्रतियोगितामा दुई विभागीय त्रिभुवन आर्मी र एपीएफ क्लबसँगै सातै प्रदेश टिमको सहभागिता रहने जनाएको छ ।
काठमाडौं — दशरथ रंगशालामा शनिबार र आइतबार राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता हुने भएको छ ।
नेपाल रग्बी संघले प्रतियोगितामा दुई विभागीय त्रिभुवन आर्मी र एपीएफ क्लबसँगै सातै प्रदेश टिमको सहभागिता रहने जनाएको छ । दुवैतर्फ सात टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइने छ ।
प्रतियोगिताको विजेता टोलीले समान पुरस्कार पाउनेछन् । विजेताले ५० हजार, उपविजेताले ३० हजार रुपैयाँ जित्नेछन् । उत्कृष्ट खेलाडीले ५–५ हजार पुरस्कार पाउने संघका महासचिव गोविन्द घिमिरेले जानकारी गराए । उनका अनुसार प्रतियोगिताको कुल खर्च ३० लाख रहेको छ । सहभागी खेलाडीलाई १ लाख २५ हजार रुपैयाँ बराबरको दुर्घटना बिमा गरिनेछ । प्रतियोगिताको हस्पिटल साझेदारमा भक्तपुर इन्टरनेसनल अस्पताल रहेको छ ।
संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले यस प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने जानकारी गराए । जापानमा हुने २० औं एसियाली खेलकुद तथा ताइवानमा हुने एसिया रग्बी इमिरेट्स सेभेन्ट ट्रफीका लागि यसै प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा राष्ट्रिय टोली छानिने छ ।
