क्व्होलासोथारमा तेस्रो अध्यक्ष कप सुरु

घलेगाउँको स्वर्गभूमि रंगशालामा आयोजित प्रतियोगिताको पुरुषतर्फ फुटबल प्रतियोगिताअन्तर्गत पहिलो खेलमा वडा नं. ९ गिलुङले वडा नं. ८ घाम्राङलाई ४–२ गोल अन्तरले हरायो ।

चैत्र २७, २०८२

आश गुरुङ

The third President's Cup begins in Khwalasothar

लमजुङ — लमजुङको क्व्होलासोथार गाउँपालिका-३, घलेगाउँमा तेस्रो अध्यक्ष कप–२०८२ फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।

घलेगाउँको स्वर्गभूमि रंगशालामा आयोजित प्रतियोगिताको पुरुषतर्फ फुटबल प्रतियोगिताअन्तर्गत पहिलो खेलमा वडा नं. ९ गिलुङले वडा नं. ८ घाम्राङलाई ४–२ गोल अन्तरले हरायो ।

मैत्रीपूर्ण खेलमा जनप्रतिनिधिको टीमले कर्मचारी टीमलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्‍यो । जनप्रतिनिधिका तर्फबाट गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पहिलो गोल गरेका थिए । कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले गरेका थिए ।

The third President's Cup begins in Khwalasothar

फुटबल प्रतियोगितामा पुरुषतर्फ गाउँपालिकाभित्रका ९ वटै वडाले सहभागिता जनाएका छन् । महिलातर्फ भने ७ वटा टीमले सहभागिता जनाएका युवा तथा खेलकुद विकास समिति क्व्होलासोथारका अध्यक्ष नौराज गुरुङले जानकारी दिए ।

प्रतियोगिता उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गरे । गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेलगायतले मन्तव्य राखे ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टीमलाई १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । द्वितीय हुने टीमलाई ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

महिलातर्फ प्रथम हुने टीमलाई नगद ५० हजार रुपैयाँ र द्वितीय हुने टीमलाई नगद २५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद विकास समिति, क्व्होलासोथारका सचिव दिलेश्वर गुरुङले जानकारी दिए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully