हक्की संघले शुक्रबार नै महिला र पुरुषको राष्ट्रिय टिमका लागि २६-२६ खेलाडीको सूची समेत सार्वजनिक गरेको छ ।
काठमाडौं — नेपाली राष्ट्रिय हक्की टिमले लगाउने जर्सी सार्वजनिक भएको छ ।
शुक्रबार रोयल टुलिप होटलमा आयोजित कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य रामचरित्र मेहता र नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले संयुक्त रुपमा जर्सी अनावरण गरेका हुन् ।
हक्की संघले पुरुष टिमका लागि रातो र महिला टिमका लागि पिंक रङको जर्सी सार्वजनिक गरेको छ ।
जर्सी सार्वजनिक कार्यक्रममा राखेप सदस्यसचिव मेहताले संघको कामको प्रशंसा गर्दै यसले हक्की खेललाई चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
मेहताले राखेपाले हक्की खेलको विकास र पूर्वाधार निर्माणका लागि सक्दो सहयोग गर्दै आएको बताए ।
यस्तै, संघका महासचिव सुवर्ण श्रेष्ठले राष्ट्रिय टिमको जर्सी सार्वजनिक गर्दै नयाँ थालनी गरेको र आगामी दिनमा यसले हक्की खेलको बारेमा राम्रो सन्देश दिने बताइन् ।
उनले आगामी दिनमा जर्सी लागि प्रायोजक समेत खोज्ने योजना रहेको जानकारी दिइन् ।
हक्की संघले शुक्रबारै महिला र पुरुषको राष्ट्रिय टिमका लागि २६-२६ खेलाडीको सूची समेत सार्वजनिक गरेको छ ।
गत फागुनमा काठमाडौंमा भएको राष्ट्रिय हक्की प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा हक्की संघले राष्ट्रिय टिम छनोट गरेको महासचिव श्रेष्ठले जानकारी दिइन् ।
