वीरगन्जस्थित टीबी शाह क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण दुई अंक हात पारेको हो ।
पर्सा — प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार वीरगन्जमा सम्पन्न समूह चरणको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि ४८ रनको जित निकालेको छ । वीरगन्जस्थित टीबी शाह क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण दुई अंक हात पारेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रनको मजबुत योगफल खडा गर्यो । सुरुआत केही दबाबपूर्ण भए पनि मध्यक्रमले इनिङ्स सम्हालेको थियो। ओपनर दिनेश खरेलले धैर्यपूर्ण ब्याटिङ गर्दै १०० बलमा ८२ रन बनाए । उनले इनिङ्सलाई स्थिर बनाउँदै टोलीलाई ठूलो स्कोरतर्फ डोर्याए । उनलाई साथ दिँदै अमित श्रेष्ठले ३२ बलमा ३० रनको योगदान गरे । अन्य ब्याटरहरूले साना–साना साझेदारी गर्दै स्कोरलाई प्रतिस्पर्धात्मक बनाएका थिए ।
कर्णालीका बलरमध्ये प्रकाश जैशी सबैभन्दा सफल रहे । उनले आफ्नो १० ओभरको स्पेलमा ५७ रन खर्चेर ३ विकेट लिए । अनुज चनाराले पनि किफायती बलिङ गर्दै ६ ओभरमा ३६ रन दिँदै २ विकेट हात पारे । अनुज चनाराले ६ ओभरमा ३६ रन दिई २ विकेट झारे । उसका अन्य बलरहरूले रन नियन्त्रण गर्न नसक्दा पुलिसले सहज रूपमा ठूलो योगफल तयार गर्न सफल भयो ।
२६२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले सुरुआतदेखि नै दबाब महसुस गर्यो । नियमित अन्तरालमा विकेट गुमाउँदा टोली खेलमा फर्किन सकेन । उसका अर्जुन घर्तीले ५६ बलमा ४६ रन बनाएर केही प्रतिरोध जनाए भने सुनील धमलाले ४७ बलमा ३४ रन जोड्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । तर, अन्य ब्याटरहरू सस्तोमा आउट हुँदा कर्णाली लक्ष्यबाट टाढिँदै गयो ।
पुलिसको बलिङ आक्रमण निकै अनुशासित देखियो । स्पिनर ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ९ ओभर २ बलमा ३६ रन खर्चेर ५ विकेट लिए । उनले कर्णालीको मध्य र तल्लो क्रम ध्वस्त पार्दै खेल पुलिसको पक्षमा मोडिदिए । फास्ट बलर करण केसीले पनि राम्रो साथ दिँदै ९ ओभरमा २९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीको उत्कृष्ट बलिङ प्रदर्शनका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो ।
