काठमाडौं क्रिकेट एकेडेमी (केसीए) का ११ जना खेलाडीलाई हिमालयन हृवाइट हाउस आइबी वर्ल्ड स्कुलले छात्रवृत्ति प्रदान गरेको छ ।
What you should know
काठमाडौँ — काठमाडौं क्रिकेट एकेडेमी (केसीए) का ११ जना खेलाडीलाई हिमालयन हृवाइट हाउस आइबी वर्ल्ड स्कुलले छात्रवृत्ति प्रदान गरेको छ । बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रहेको केसीएमा बिहीबार एकेडेमी र हिमालयन हृवाइट हाउसबीच छातृवत्तिका लागि सम्झौता भएको हो ।
उक्त सम्झौतामा केसीएका संचालकद्वय मदन कार्की र कुन्दन खड्का तथा हिमालयन हृवाइट हाउसका अध्यक्ष युवराज शर्माले हस्ताक्षर गरेका थिए । सम्झौता अवधि पाँच वर्षको रहेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रमुख प्रशिक्षक एवं केसीएका निर्देशक तथा प्रमुख प्रशिक्षक जगत टमाटाको रोहबरमा सम्झौता भएको थियो ।
सहकार्यको मुख्य उद्देश्य युवा क्रिकेट खेलाडीहरूको शैक्षिक तथा खेलकुद विकासलाई सुदृढ बनाउनु रहेको छ । सम्झौताअनुसार केसिएले प्रतिभाशाली तथा योग्य युवा क्रिकेटरहरू पहिचान, प्रशिक्षण र सिफारिस गर्नेछ भने हिमालयन व्हाइट हाउसले उनीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ । खेलाडीहरूले कक्षा १० सम्म छात्रवृत्ति पाउनेछन् । सम्झौतामा छात्रवृत्ति प्लस टु सम्म निरन्तर हुने पनि उल्लेख छ ।
सम्झौताअनुसार काठमाडौं क्रिकेट एकेडेमीले खेलाडीहरूको प्रगति, अनुशासन र प्रशिक्षणको नियमित अनुगमन गर्दै विद्यालयलाई जानकारी गराउनेछ । हिमालयन हृवाइट हाउसले एकेडेमीद्वारा सिफारिस गरिएका खेलाडीहरूलाई प्राथमिकता दिँदै छात्रवृत्ति प्रदान गर्ने, आवश्यक परे अतिरिक्त कक्षा तथा वैकल्पिक मूल्यांकनको व्यवस्था गर्ने र केसिएलाई आफ्नो आधिकारिक क्रिकेट साझेदारको रूपमा प्रवर्द्धन गर्ने भएको छ ।
केसीएका निर्देशक तथा प्रमुख प्रशिक्षक जगत टमाटाले खेलाडीका लागि शिक्षा अपरिहार्य रहेको उल्लेख गरे । उनले भने, ‘खेलाडीले खेल मात्र खेरेर हुँदैन, शिक्षाको पनि उत्तिकै आवश्यकता हुन्छ । यो सहकार्य अत्यन्त राम्रो पहल हो ।’ व्हाइट हाउसका अध्यक्ष शर्माले यसलाई नयाँ सुरुवातको रूपमा लिँदै ग्रासरुटबाट क्रिकेट विकासमा जोड दिनुपर्ने बताए । ‘हामीले दुई दशकभन्दा बढी समयदेखि खेलकुद प्रवर्द्धन गर्दै आएका छौं । धेरै राष्ट्रिय क्रिकेटर उत्पादनमा हाम्रो योगदान छ । अब विद्यालय तहबाटै खेलाडी तयार पार्ने लक्ष्यका साथ यो पहल सुरु गरेका हौं,’ उनले भने ।
केसीएका संचालक मदन कार्कीले यो सहकार्यले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीहरुलाई ठूलो उत्प्रेरणा मिल्ने र उनीहरुको क्षमता अभिवृद्धिमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । अभिभावकका तर्फबाट गणेशकुमार खड्काले दुबै संस्थालाई धन्यवाद दिँदै यस कार्यक्रमले भविष्यमा उत्कृष्ट क्रिकेटर उत्पादनमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे ।
हाल अमेरिकामा रहेका पूर्व खेलाडी राकेश कर्णले केसीएका दुई जुनियर खेलाडीलाई यसअघि छात्रवृति दिएका थिए ।
