आयोजक संघले बिहीबार पत्रकार सम्मेलनमा जनाएअनुसार दक्षिण एसियाका बंगलादेशबाहेक ६ राष्ट्रको सहभागिता रहने प्रतियोगिता चार दिनसम्म चल्नेछ ।
काठमाडौँ — नेपाल टेनिस संघले ३० चैतदेखि आईटीएफ एसिया १२ एन्ड अन्डर टिम टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आयोजक संघले बिहीबार पत्रकार सम्मेलनमा जनाएअनुसार दक्षिण एसियाका बंगलादेशबाहेक ६ राष्ट्रको सहभागिता रहने प्रतियोगिता चार दिनसम्म चल्नेछ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा नेपालसहित भुटान, भारत, माल्दिभ्स, श्रीलंका र पाकिस्तानका गरी ३३ खेलाडीले भाग लिने छन् ।
यो सिंगापुरमा सेप्टेम्बर १५ देखि २० सम्म हुने एसियाली फाइनलका लागि हुने छनोट प्रतियोगिता पनि हो । यस दक्षिण एसियाली छनोटबाट ब्वाइजमा र गर्ल्स दुवैतर्फ फाइनल पुग्ने दुई टिम सिंगापुर जान पाउने संघका अध्यक्ष मनोहरदास मुलले जानकारी गराए ।
प्रतियोगितामा नेपालबाट ब्वाइजमा आरित मल्ल, सभ्यजंग कार्की र सहंश बस्तेत तथा गर्ल्सतर्फ सारा पन्त, आर्या पौडेल र नायरासिं घले छन् । ब्वाइज टोलीको प्रशिक्षकमा सूर्यभुषण बज्राचार्य र गर्ल्स टोलीको प्रशिक्षकमा कान्छा खड्गी रहनेछन् ।
यस प्रतियोगिताका लागि छनोट प्रतियोगिता गरेर समान ३–३ खेलाडी छानेको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी गराए । प्रतियोगिता टिम स्पर्धामा हुनेछ । त्यसमा दुई सिंगल्स र एक डबल्स खेल हुनेछ ।
नेपालले आईटीएफको जुनियर खेलाडीको यो प्रतियोगिता पाँचौं पटक आयोजना गर्न लागेको हो । यसअघि सन् २०१७, २०१८, २०२२ र २०२४ मा सफलतापूर्वक प्रतियोगिता आयोजना गरिसकेकाले आईटीएफले फेरि आयोजनाको अवसर दिएको अध्यक्ष मुलले बताए । प्रतियोगिताका लागि आईटीएफका प्रतिनिधि जोनाथन स्टब्स आउने छन् भने आईटीएफ सिल्भर ब्याच रेफ्री सुप्रित काडाभिगेर नेपाल आइसकेका छन् ।
