गोल्डकपमा दुई विदेशी टोलीसहित नेपालका ८ टोलीको सहभागिता रहने
सुनसरी — अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १६औँ संस्करण रात्रिकालीन हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लबले बुधबार पत्रकार सम्मेलनमार्फत आगामी चैत ३० देखि वैशाख ७ गतेसम्म रात्रिकालीन प्रतियोगिता आयोजना गरिने जनाएको छ ।
गोल्डकपमा दुई विदेशी टोलीसहित नेपालका ८ टोलीको सहभागिता रहनेछ । यसअघि १४औँ संस्करण पनि रात्रिकालीन रूपमा आयोजना गरिएको थियो भने १५औँ संस्करण दिवाकालीन रूपमा सम्पन्न भएको थियो ।
रात्रिकालीन प्रतियोगिताका लागि तीन वर्षअघि इटहरी रंगशालाको पूर्व र पश्चिमतर्फ फ्लडलाइट जडान गरिएको थियो । जसका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले ८० लाख रुपैयाँ उपलब्ध गराए पनि त्यसयता कुनै निकायबाट बजेट विनियोजन नभएकाले बाँकी स्थानमा अस्थायी बत्ती जडान गरिने आयोजकले जनाएको छ ।
एक सातासम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पाउने संयोजक अनुरोध थापाले बताए । सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले २० हजार रुपैयाँ तथा ‘म्यान अफ द म्याच’ घोषित खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् ।
इटहरी उपमहानगरपालिकाको संयोजनमा हुने प्रतियोगितामा क्लबका अध्यक्ष केशव कार्कीका अनुसार ८८ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको छ । प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिकाले १८ लाख रुपैयाँ विनियोजन गरेको छ । स्थानीय सहयोगी दाता र टिकट बिक्रीबाट २५ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक रेडबुल रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेल चैत ३० गते नाइजेरियाको जस्ट जोन एफसी र युवा समाज सुन्दरहरैचाबीच हुनेछ । दोस्रो खेल वैशाख १ गते मच्छिन्द्र एफसी, काठमाडौं र झापा–११ एफसी बीच हुनेछ ।
त्यसैगरी वैशाख २ गते राष्ट्रिय जागृति क्लब, इटहरी र सातदोबाटो युथ क्लब, ललितपुरबीच प्रतिस्पर्धा हुनेछ भने वैशाख ३ गते प्लानिङ ब्वाइज एफसी, काठमाडौं र भारतको युनाइटेड खर्साङ एफसीबीच खेल हुने तालिका सार्वजनिक गरिएको छ ।
पहिलो चरणका विजेता टोलीहरूबीच वैशाख ४ र ५ गते सेमिफाइनल खेल सञ्चालन गरिनेछ । प्रतियोगिताको फाइनल खेल वैशाख ७ गते हुने आयोजकले जनाएको छ ।
