पीएम क्रिकेट कप: कोशीको लगातार कमजोर प्रदर्शन

प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको क्रिकेट मैदानमा बुधबारको खेलमा बागमतीले कोशीलाई ७ विकेटले पराजित गरेको छ ।

चैत्र २५, २०८२

अजित तिवारी

PM Cricket Cup: Koshi's consistently poor performance

What you should know

जनकपुर — प्रधानमन्त्री (पीएम) क्रिकेट कप पुरुष राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको कमजोर प्रदर्शन देखिएको छ । बागमती प्रदेशसँग कोशीले खेलेको सातौं खेल पनि हारेको छ । पीएम कपमा कोशी प्रदेश बर्षाका कारण रद्द भएको खेलमा पाएको १ अंकसहित पूछारमै छ । 

जनकपुरस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको क्रिकेट मैदानमा बुधबार भएको खेलमा बागमतीले कोशीलाई ७ विकेटले पराजित गरेको छ । खेलको सुरुवातमा व्याटिङ गर्दै कोशीले २८.२ ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सकेको थियो । 

कोशीका ओपनिङ व्याटर सुमन श्रेष्ठ ७ रन र सायब हक २ रनमा आउट भए । त्यसपछि आएका ब्याटर अंकित केसीले २६ बलमा १९ रन बनाए । अर्का ब्याटरहरु शिवांश बजगाईले १२ बलमा १०, सुमन थपलियाले ४२ बलमा २१, आशिष राना मगरले ८ बलमा ४, दिपेश कँडेलले १, रोशन साहले १८ रन, विपिनकुमार महतोले ५ र ज्ञानेन्द्रबहादुर श्रेष्ठले २ रन बनाएका थिए । कोशीले अतिरिक्त ६ रन पाएको थियो । 

बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले कोशीबिरुद्धको खेलमा पनि उत्कृष्ट बलिङ गरे । उनले ७.३ ओभरमा ३२ रन दिँदै सर्वाधिक ५ विकेट लिए । अर्का बलर रिजन ढकालले ५ ओभरमा १८ रन खर्चँदै २ विकेट, प्रतिश जिसीले ६ ओभरमा २० रन दिएर १ र इशान पाण्डेले ३ ओभर फ्याक्दै ९ रन दिएर १ विकेट लिएका थिए । 

एक दिवसीय खेलमा झिनो लक्ष्य पछ्याएको बागमती प्रदेशले ९ ओभरमा ३ विकेटको क्षतिमा १ सय रन पुर्‍याएर बिजयी हासिल गर्‍यो । बागमतीका ओपनिङ ब्याटर रिनझिन लामाले १६ बलमा १७ रन, शुभ कंसाकार १ रनमा नै पवेलियन फर्किए । त्यसपछि व्याटिङमा उत्रिएका विवेक राना मगर र प्रतिश जिसीको साझेदारीले बागमतीलाई छिट्टै बिजयी लक्ष्यमा पुग्न सफलता दिलायो ।

बागमतीका व्याटर मगरले २८ बलमा ६१ रन बनाए । जिसीले ५ बलमा १७ रन जोडेका थिए । बागमती प्रदेशले अतिरिक्त ४ रन जोडेको थियो । कोशी प्रदेशका बलर विपिनकुमार महतोले ३ ओभरमा २८ रन दिँदै २ विकेट र ज्ञानेन्द्रबहादुर श्रेष्ठले १ ओभरमा १४ रन खर्चँदै १ विकेट लिएका थिए ।  

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully