मन्त्री सस्मित पोखरेल भन्छन्, ‘सुदूरपश्चिममा क्रिकेटको ठूलो क्रेज छ भन्ने मलाई जानकारी छ, ड्रिम फाप्ला निर्माणका लागि स्रोत सुनिश्चित गर्न हामी लागिपरेका छौं’
What you should know
धनगढी — विश्वस्तरीय मापदण्डको क्रिकेट स्टेडियमको सपना बोकेर निर्माणको पर्खाइमा रहेको धनगढीस्थित फाप्ला मैदानमा मंगलबार बिहान शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सांसदहरूका साथ बलिङ र ब्याटिङमा उत्रिए । त्यस क्रममा उनी आफू नि हौसिए अनि क्रिकेटका पारखी र फाप्ला निर्माणका अभियान्ताहरूलाई पनि उत्साही बनाए ।
धनगढी विमानस्थलमा उत्रिएर सिधै फाप्ला हानिएका मन्त्री पोखरेलले फाप्लाको अवलोकन मात्र गरेनन्, उनले त्यहाँको अवस्थाबारे सरोकारवालाहरूसँग छलफल गरे । उनले सुदूरपश्चिममा क्रिकेटप्रति उच्च आकर्षण रहेको विषयमा आफू जानकार रहेको बताउँदै फाप्लालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा अघि बढाएको उल्लेख गरे । ‘सुदूरफश्चिममा क्रिकेटको ठूलो त्रेज छ भन्ने मलाई जानकारी छ । फाप्ला निर्माणका लागि स्रोत सुनिश्चित गर्न हामी लागिपरेका छौं,’ मन्त्री पोखरेलले भने । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले रंगशालाको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
फाप्लामा ५० हजार दर्शक क्षमताको विश्वस्तरीय क्रिकेट स्टेडियमसहित फुटबल मैदान, जीमखाना, पौडी पोखरी, इन्डोर हल, होटल लगायत अन्तर्राष्ट्रियस्तरका भौतिक पूर्वाधार, पार्किङ, तालिम भवन, मिडिया सेन्टरलगायत बनाउन डीपीआरलगायत सम्पूर्ण प्रक्रिया यसअघि नै स्वीकृत भइसकेको छ ।
सरकारद्वारा गठित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समितिले ०८१ असोजमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ०८२ असारमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तयार गरी सम्बन्धित मन्त्रालयद्वारा स्वीकृत गरिसकेको छ । डीपीआरअनुसार फाप्लामा क्रिकेट स्टेडियममात्र नभई बहुउद्देशिय खेलग्राम निर्माण हुनेछ ।
विकास समितिका अध्यक्ष सुवास शाहीका अनुसार करिब २६ अर्ब लागत लाग्ने परियोजना तयार भएको छ । ‘सरकारले अब बजेट विनियोजन गरेर ठेक्का प्रक्रिया अगाडि बढाउने कामको प्रतीक्षा मात्र छ,’ शाहीले भने ‘गरिबीको चपेटामा परेको सुदूरपश्चिम प्रदेशलाई आर्थिक समृद्धिको मार्गमा लैजाने गेम चेन्जर आयोजना हो फाप्ला ।’
सरकारले ०७८ माघमा फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम निर्माण गर्ने निर्णय गर्दै २ लाख ६० हजार ९१९ वर्गमिटर क्षेत्रफल जग्गा प्रदान गरेको थियो । सरकारको सोही दिनको बैठकले पूर्वाधार विकास लगायतका कार्यहरू अघि बढाउन क्रिकेट अभियन्ता सुवास शाहीको अध्यक्षतामा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समितिसमेत गठन गर्ने निर्णय गरेको थियो । समितिले ०७९ असारमा पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरेको थियो ।
खेलग्राम निर्माणमा २६ अर्ब लागत र ५ वर्ष अवधि लाग्ने भए पनि दुई चरणमा कार्य गर्ने तयारी गरिएको छ । पहिलो चरणमा ११ अर्ब लागतमा संरचना निर्माण गरेर क्रिकेटको अन्तराष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने विकास समितिले जनाएको छ ।
फाप्ला बन्न सके सुदूरपश्चिमकै आर्थिक विकासमा ठूलो योगदान पुग्ने व्यवसायीहरू बताउँछन् । हालै सम्पन्न निर्वाचनका क्रममा कैलाली ५ बाट निर्वाचित सांसद आनन्दबहादुर चन्दले फाप्ला निर्माणलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर मत मागेका थिए । रास्वपाबाट निर्वाचित चन्द भन्छन्, ‘फाप्ला आयोजना निर्माणले सुदूरपश्चिममा आर्थिक विकासको ढोका खोल्छ, आगामी बजेटमा प्राथमिकतामा पार्न हरसम्भव प्रयास गरिरहेका छौं ।’
