प्रतियोगितामा ए डिभिजनका ६, मोफसलका ३, एक विदेशी र आयोजक गरी १० टिमको सहभागिता रहनेछ ।
What you should know
मकवानपुर — आठौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता वैशाख दोस्रो साता हुने भएको छ ।
मकवानपुरको पूर्वीक्षेत्रमा अवस्थित बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा ए डिभिजनका ६, मोफसलका ३, एक विदेशी र आयोजक गरी १० टिमको सहभागिता रहनेछ । आयोजकले प्रतियोगिता तयारी तीब्ररुपमा अगाडि बढाइएको जनाएको छ ।
साविकको विजेता चर्च ब्वाइजसहित ए डिभिजन टोली मच्छिन्द्र, सशस्त्र प्रहरीको (एपीएफ), त्रिभुवन आर्मी क्लब, फ्रेण्डस क्लब, प्लानिङ ब्वाइज, मलेसियाको पेनाङ एफसी, सर्लाहीको बागमती युवा क्लब, सिमराको नवजनजागृति युवा क्लब र आयोजक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
बागमती गाउँपालिकाको मुख्य प्रायोजनमा सहिद स्मृति रंगशाला झुरझुरेमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता स्थल हेटौंडाबाट करिब ४५ किलोमिटर पूर्वमा पर्दछ । प्रतियोगितामा करिब ७८ लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजक बागमती गाउँपालिका खेलकुद विकास समिती अध्यक्ष रहरसिं थिङले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १० र ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्बोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ र विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई २५ हजार रुपैयाँको व्यवस्था गरिएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुने विदेशी खेलाडीको हकमा भने ‘वर्क परमिट’ अनिवार्य गरिएको छ । ‘एन्फाको क्यालेण्डरमा हाम्रो प्रतियोगिता समावेश भएको छ । त्यसकारण हामी पूर्णरुपमै एन्फाकै नियमानुसार प्रतियोगिता सञ्चालन गर्नेछौं,’ अध्यक्ष थिङले भने । उनले केही दिनमा खेल तालिका सार्वजनिक गर्ने बताए ।
पालिका अध्यक्ष सर्केश घलानका अनुसार वैसाखबाट फुटबल खेलाडी उत्पादको हिसाबले समितिसँग सहकार्य गरी प्रतियोगिता स्थलमा फुटबल एकेडेमी सञ्चालनको तयारी गरिएको छ । ‘हामीले फुटबल एकेडेमी सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरेका छौं । अब उत्कृष्ट खेलाडीको खोजी गरी होस्टलसहित दैनिक प्रशिक्षणको व्यवस्था मिलाउने छौं,’ पालिका अध्यक्ष घलानले भने ।
उनका अनुसार राष्ट्रका लागि कुशल फुटबलर उत्पादन गर्ने योजना अनुसार एकेडेमी सञ्चालन गर्न लागिएको हो । ‘राम्रो फुटबल खेलाडी हुनका लागि एकेडेमीमै प्रशिक्षण गरेको हुनुपर्छ । त्यसका लागि हामीले एकेडेमी सञ्चालन गर्न लागेका हौं,’ उनले भने ।
