प्रतियोगितामा प्रदेशका प्रत्येक जिल्लाबाट महिला र पुरुष भलिबल टिम सहभागी हुनेछन् । प्रत्येक टिममा १० जना खेलाडी र एक जना प्रशिक्षक रहने व्यवस्था गरिएको छ ।
What you should know
दाङ — लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुधबारदेखि दाङमा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
चैत २५ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता लागि घोराहीस्थित जिल्ला समन्वय समितिको प्रांगणमा खेल मैदानलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमले बताए । प्रतियोगिताका लागि खेल मैदानका साथै अन्य व्यवस्थापन, आवास र प्राविधिक तयारी सम्पन्न भइसकेको उनले जानकारी दिए ।
प्रतियोगितामा प्रदेशका प्रत्येक जिल्लाबाट महिला र पुरुष भलिबल टिम सहभागी हुनेछन् । प्रत्येक टिममा १० जना खेलाडी र एक जना प्रशिक्षक रहने व्यवस्था गरिएको छ । खेल अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमअनुसार सञ्चालन गरिनेछ भने लिगकम नकआउट प्रणालीमा प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचर्याले गर्ने कार्यक्रम रहेको गौतमले बताए । प्रतियोगिताका विजेताले नगद १ लाख नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय हुने टिमले र ६५ हजार, तृतीयले ३५ हजार र सान्त्वनाले १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही ५ हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिनेछ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सञ्चालन हुने प्रतियोगिताले प्रदेशस्तरमा भलिबल खेलको विकास र खेलाडीको क्षमतामा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । गत वर्ष पुरुषतर्फ गुल्मी र महिलातर्फ पाल्पा प्रथम भएका थिए । यसपालि पुरुष र महिलाको प्रतियोगिता एकैसाथ हुन थालेको हो । अघिल्लो वर्ष पुरुषको अर्घाखाँचीको सन्धिखर्कमा र महिलाको दाङको घोराहीमा प्रतियोगिता सञ्चालन भएको थियो ।
