करातेकी एरिकाले चीनमा प्रिमियर लिग खेल्ने

१० देखि १२ अप्रिलसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

चैत्र २४, २०८२

कान्तिपुर संवाददाता

Karateka Erica to play in China's Premier League

काठमाडौं — करातेकी एरिका गुरुङले चीनको लेसनमा हुने डब्लूकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छन् । त्यसका लागि एरिकासहित ३ सदस्यीय नेपाली कराते टोली बुधबार चीन जानेछ ।

१० देखि १२ अप्रिलसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । जनवरीमा टर्कीको इस्तानुबलमा भएको प्रिमियर लिगमा एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन् । प्रिमियर लिग वर्षमा चारपटक हुन्छ ।

राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठका अनुसार विश्व वरीयतामा एरिका हाल ११औं स्थानमा छन् । सन् २०२६ को उपलब्धिका आधारमा भने तमुधी युकेकी सद्भावना दूत एरिका चौथो वरीयतामा छन् ।

टोली प्रशिक्षकको जिम्मेवारीमा कुशल श्रेष्ठ नै छन् । व्यवस्थापकमा रवि महर्जन रहनेछन् । मंगलबार उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले बिदाइ गरे । सदस्य–सचिव मेहताले पदक जितेवापत खेलाडीले प्राप्त गर्न नसकेको नगद पुरस्कार रकमका लागि पहल गरिरहेको जानकारी गराए ।

‘विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेवापतको खेलाडीले पाउन नसकेको नगद पुरस्कार लागि गम्भीर भएर सम्बन्धित निकायमा पहल गरिरहेका छौं,’ खेलकुद मन्त्रीज्यूको स्वागत कार्यक्रममा पेस गरिएको तत्काल गर्नुपर्ने १८ कार्यमध्ये मैले खेलाडीको पुरस्कारलाई पहिलो नम्बरमा राखेको छु,’ सदस्यसचिव मेहताले भने, ‘व्यक्तिगत भेटमा पनि यही आर्थिक वर्षमा दिनुपर्छ भनेर मन्त्रीसँग कुरा गरेको छु । उहाँ पनि सकारात्मक हुनुहुन्छ ।’

कान्तिपुर

Link copied successfully