क्यानले महिला क्रिकेट विकासमा वार्षिक ५ लाख डलर खर्च गर्ने भएको छ ।
काठमाडौँ — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) बाट नेपाल क्रिकेट संघ (क्यान) ले ९ करोडभन्दा बढी खुद नाफा कमाएको छ । क्यानको सोमबार बसेको केन्द्रीय समिति बैठकले चार महिनाअघि सम्पन्न प्रिमियर लिगको आयव्यय सार्वजनिक गरेको थियो ।
आठ फ्रेन्चाइज टोली समावेश एनपीएलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । सार्वजनिक संक्षिप्त आयव्ययअनुसार क्यानले एनपीएलमा ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । त्यसमध्ये २१ करोड ९६ लाखभन्दा बढी रकम एनपीएल आयोजनामा खर्च भएको जनाइएको छ । एनपीएलको नाफा २५ करोड ३९ लाखभन्दा बढी नाफा भएको छ । क्यान र ८ फ्रेन्चाइज टोलीबीच खुद नाफाको ५० प्रतिशत बाँडफाँट हुने सहमतिअनुसार १६ करोड १८ लाख ७३ हजार ५ सय रुपैयाँ प्रदान गरिने जनाइएको छ । यो सबै कटाएर क्यानले ९ करोड २१ लाख २१ हजार ९ सय ३५ रुपैयाँ खुद नाफा गरेको हो ।
पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोलीले ३ करोड १६ लाख पाएका थिए भने क्यानको खुद नाफा २ करोड ४६ लाख मात्र थियो । पहिलो संस्करणको तुलनामा क्यानले झन्डै ४ गुणा बढी नाफा कमाएको छ ।
क्यानले महिला क्रिकेट विकासमा वार्षिक ५ लाख डलर खर्च गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को फन्डिङ निर्देशनअनुरुप महिला क्रिकेट विकासमा उक्त रकम खर्च गर्ने निर्णय भएको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि त्रिभुवन विश्वविद्यालयसँगको करार सम्झौता अवधि समाप्त हुन लागेकाले अवधि थप तथा हाल राष्ट्रिय खेलकुद परिषद्मातहात सञ्चालनमा रहेको तल्लो मूलपानी क्रिकेट मैदान क्यानमा हस्तान्तरण गरिदिन नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।
क्यान साधारणसभा विराटनगरमा
क्यानको साधारणसभा वैशाख २७ र २८ गते विराटनगरमा गरिने भएको छ । साथै ४ वर्षे पदावधि समाप्त भएका २० जिल्लाको कार्यकाल जेठ मसान्तसम्म थप्ने निर्णय गरिएको छ । विराटनगरमा हुने साधारणसभापछि ती जिल्लाले जेठ मसान्तभित्र निर्वाचन सम्पन्न गर्नुपर्नेछ ।
२०२६ को वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन गर्ने निर्णय पनि गरेको क्यानले जनाएको छ ।
