भरौल गोल्डकपमा पथरी स्पोर्टिङको विजयी सुरुवात

न्यू स्टार क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मोरङको पथरी स्पोर्टिङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

चैत्र २३, २०८२

अर्जुन सुवेदी

Pathari Sporting makes a winning start in Bharoul Gold Cup

सुनसरी — पथरी स्पोर्टिङ क्लबले सुनसरीको बराहक्षेत्रमा सोमबारबाट सुरु नवौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण भरौल गोल्डकपमा विजयी सुरुवात गरेको छ । 

न्यू स्टार क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मोरङको पथरी स्पोर्टिङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

स्थानीय जडेज खेलमैदान भरौलमा भएको प्रतिष्पर्धामा पथरीको जितमा सञ्जय लिम्बु र आदित्य शाक्यले एक–एक गोल गरे । पहिलो हाफको पूरै समय झापाली टिमलाई दबावमा राखेको पथरीको लागि सञ्जयले २६ औं मिनेटमा गोल गरे । 

पहिलो हाफमा १–० ले पछि परेको झापाले दोस्रो हाफको १० मिनेटमा गोल फर्कायो । राजेश दाहालको पासमा घनश्याम कार्कीले आकर्षक हेड गोल गरेपछि खेल बराबरीमा आएको थियो । तर दोस्रो हाफको ३१ औं मिनेटमा मिलन राईको पासमा आदित्यले गोल गरेपछि पथरीले २–१ गोल अन्तरको स्पष्ट जित हात पारेको हो । 

आदित्य खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार हात पार्न सफल भए । प्रतियोगिता अन्तर्गत मंगलबारको दोस्रो क्वाटरफाइनल खेल पाहुना टोली मलेसियाको आरटी एफसी र इटहरीको योङ ब्रदर्श क्लबबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

चैत्र २९ सम्म चल्ने प्रतियोगितामा दुई विदेशी क्लबसहित ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ४ लाख र  उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृट खेलाडीले २५ हजार र बिधागत तर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

अर्जुन

Link copied successfully