कान्तिपुर मिडिया ग्रुप (केएमजी)ले आयोजना गरिरहेको कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ ।
What you should know
काठमाडौं — कान्तिपुर हाफ म्याराथनको १४औं संस्करण वैशाख ५ गते शनिबार हुने भएको छ । कान्तिपुर मिडिया ग्रुप (केएमजी)ले आयोजना गरिरहेको कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ । ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको म्याराथनमा पावर्ड बाई एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स रहेको छ ।
कान्तिपुर हाफ म्याराथन २१.१ किमिको हुनेछ । त्यस्तै, अन्य तीन विधा कर्पोरेट एन्ड इन्फुलेएन्सर रन पाँच किमि, एक्स्ट्रिम कलेज रन सात किमि, ह्विलचेयर रेस तीन किलोमिटरको हुने केएमजीका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए । कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा ‘रन फर नेपाल’ रहेको छ ।
मुख्य विधा रहेको कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० हजार पाउने छन् । त्यस्तै दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार रुपैयाँ पाउने छन् । पहिलो ३ स्थानमा आउनेले ट्रफी र मेडल पनि पाउने छन् । ह्विलचेयर रेसतर्फ विजेताले ३५ हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २५ र १५ हजार पाउने छन् ।
कर्पोरेट एन्ड इन्फुलेएन्सर रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन् । यसपटकदेखि दौड पुरा गर्ने सबैले मेडल पाउने छन् । एक्स्ट्रिम कलेज रन विजेताले आईपीएलका लागि काठमाडौंदेखि खेलस्थलसम्मका लागि दुईतर्फी हवाई टिकट र खेल हेर्न टिकट प्रदान गरिने एक्स्ट्रिम इनर्जी ड्रिक्सका विजनेस हेड सोनिया राणाले बताइन् ।
कान्तिपुरको कार्यालय रहेको तीनकुने अगाडिबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी हुँदै जगाती चोकबाट फन्को लगाएर, कोटेश्वर हुँदै तीनकुनेमा आएर दौड टुंगिने छ रेस प्रशिक्षक आरके विष्टले जनाए । कर्पोरेट एन्ड इन्फुलेएन्सर दौड तिनकुनेबाट सुरु भएर लोकन्थलीको पुलबाट फर्किएर कोटेश्वर हुँदै तीनकुने आएर टुंगिने छ । तीनकुनेबाट सुरु हुने ह्विलचेयर कोटेश्वर पुगेर फर्केर तीनकुनेमै आएर टुंगिने छ । कलेज रन कोटेश्वर हुँदै तीनकुनेबाट गठ्ठाघर चोक पुगेर फर्कि कोटेश्वर हुँदै तीनकुने आएर टुंगिने छ ।
हरेक वर्ष यसलाई परिस्कृत रुपमा आयोजना गर्न केएमजी प्रयत्नरत रहेको जनाउँदै स्वाँरले यसवर्षदेखि हाफ म्याराथनतर्फ टेक्नोलोजी प्रयोग गरेर दौड पुरा गर्नेको ‘एक्युरेट टाइमिङ’ निकाल्ने बताए ।
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने म्याराथनको टाइटल स्पोन्सरमा ग्लोबल आईएमई बैंक तथा पावर्ड बाई एक्स्ट्रिम ड्रिङ्क्स रहेको छ । त्यस्तै सेलिब्रेसन पार्टनर केएफसी एन्ड पिजा हट, टेक्निकल पार्टनर नेपाल एथ्लेटिक्स एसोसिएसन, हस्पिटल पार्टनर फ्रन्टलाइन अस्पताल र फुड पार्टनर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनी रहेका छन ।
ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कान्तिपुरसँग छैटौंपटक सहकार्य गर्दै गरेको र स्वस्थ समाज निर्माणका लागि यस किसिमको इभेन्टले महत्वपूर्ण भुमिका खेल्ने हुनाले हातेमालो गर्दै आएको बताए ।
२०६७ सालमा आयोजित पहिलो संस्करणमै १ हजारभन्दा धेरैले सहभागी भएको कान्तिपुर हाफ म्याराथनमा सबै विधामा गरी यसपटक ३ हजार देखि ५ हजारसम्म धावक सहभागी हुने अपेक्षा गरेको केएमजीका प्रमुख कार्यकारी अधिकृत स्वाँरले बताए । खेलाडी दर्ताको मिति चैत ३१ गतेसम्म रहेको छ । खेलाडी दर्ताका कान्तिपुर इभेन्ट्सबाट गर्न सकिने उनले जनाए ।
महिलातर्फ कान्छीमाया कोजुले ५ पटक कान्तिपुर हाफ म्याराथनको उपाधि जितेकी छन् । पुरुषतर्फ हरिकुमार रिमालले चारपटक कान्तिपुर हाफ म्याराथन जितिसकेका छन् । गत वर्ष त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का र धादिङकी सन्तोषी श्रेष्ठ कान्तिपुर हाफ म्याराथनमा विजेता बनेका थिए । हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।
