स्टारले बुटवल युथ क्रिकेट क्लबलाई १ सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
भैरहवा — २४औं संस्करणको रुपन्देही सुपर लिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको आइतबार भएको खेलमा स्टार क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ ।
स्टारले बुटवल युथ क्रिकेट क्लबलाई १ सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्टारले ४१ ओभर २ बलमा सबै विकेटको नोक्सानीमा २ सय २१ रनको बलियो योगफल खडा गरेकाे थियो । जसमा, शुभम खनालले ६०, सिद्धार्थ ढकालले ५७, कृष्ण कुंवरले २१, रन्जित मौर्यले १६ र गणेश धितालले १५ रनको योगदान दिएका थिए ।
बलिङमा बुटवल युथका अजय चौधरीले ४, हिलसन क्षेत्री र सम्पन्न पाठकले २–२ तथा कृष्ण पटेल र अमृत भण्डारीले १–१ विकेट लिएका थिए ।
जवाफमा बुटवल युथले २७ ओभर ४ बलमा अलआउट हुँदै १ सय १० रनमै सीमित रहन पुग्यो । बुटवल युथलाई सस्तैमा रोक्न बलिङमा स्टारका फैजन खान र शुभम खनालले २–२ तथा गणेश धिताल, तुलबहादुर थापा, शुभम पाण्डे र सिद्धार्थ ढकालले १–१ विकेट लिएका थिए ।
बुटवल युथका कृष्ण पटेलले २०, सोनु मल्लाहले १७, सन्तोष परियारले १६, हिलसन क्षेत्रीले १२ र प्रदीप पेलाले १० रन बनाए । खेलमा शुभम खनाल प्लेयर अफ द म्याच भएर १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
