चैत १७ बाट सुरु भएको प्रतियोगितामा ताप्लेजुङ, सङ्खुवासभा, धनकुटा र तेह्रथुमका आठ टिमको सहभागिता रहेको थियो ।
ताप्लेजुङ — प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको विशेष महाशिवरात्री कप फुटबल प्रतियोगिताको उपाधि तेह्रथुमले चुमेको छ ।
मैवाखोला गाउँपालिका–३ साँघुमा सम्पन्न प्रतियोगिता शिवरात्रीकै नाम राखेर रामनवमीको अवसरमा सञ्चालन गरिएको थियो । उक्त प्रतियोगिताको फाइनल खेलमा धनकुटालाई पराजित गर्दै तेह्रथुमले उपाधि चुमेको हो ।
फाइनलमा धनकुटाको साँगुरीगढीलाई ३–२ गोल अन्तरले पराजित गर्दै तेह्रथुमको म्याङ्लुङ स्पोर्टिङ क्लबले उपाधि हात पारेको आयोजक संस्था जलजले क्लबका सचिव चिरञ्जीवी चोङवाङले जानकारी दिए ।
तेह्रथुमको तर्फबाट समीर राईले पहिलो गोलको खाता खोल्दा धीरज लिम्बुले दोस्रो र डिम्पल भण्डारीले निर्णायक गोल गरे ।
धनकुटाको तर्फबाट विकास परियार र प्रज्वल थापाले समान एक एक गोल फर्काए पनि जितकालागि पर्याप्त भएन। तेह्रथुमले नगद २ लाख ६१ हजार तथा उपविजेता धनकुटाले नगद १ लाख ३१ हजार १११ रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर प्रेम लिम्बू र सर्वश्रेष्ठ खेलाडी समिर लिम्बु बन्न सफल भए भने सर्वाधिक गोलकर्ता धनकुटाका विकास परियार भए र समान ३-३ हजार रुपैयाँ प्राप्त गरे ।
गत चैत १७ बाट सुरु भएको प्रतियोगितामा ताप्लेजुङ, सङ्खुवासभा, धनकुटा र तेह्रथुमका आठ टिमको सहभागिता रहेको थियो ।
